नेपाली राजनीतिमा अनुशासनको बहस बारम्बार चल्ने गरेको छ । बहसका क्रममा मुल विषय आर्थिक अपारदर्शिता रहेको विषय उठेपनि दलहरु यसमा गम्भीर बनेको देखिँदैन । यही बेवास्ताको कारण सिंगो मुलुकमा भ्रष्टाचार बढेको टिप्पणी हुने गरेको हो ।
नेपाली राजनीति अनुशासित नहुनुको प्रमुख कारण पार्टी संचालन प्रक्रिया मात्र होइन, आर्थिक अपादर्शिता पनि हो । सबैजसो पार्टीहरुका आर्थिक हैसियत स्पष्ट छैनन्, आर्थिक श्रोत के हो ? कहाँबाट यत्रो हैसियत बन्यो ? कुनै आधार देखिँदैन, जोसँग जति असुलेपनि हुने, अनि जसरी खर्च गरेपनि हुने प्रकारको अवस्थाले सिंगो संगठनलाई मात्र होइन, देशलाई नै अराजक बनाएको छ । भ्रष्टाचारको मुलकारण पार्टी बनेको छ । पार्टीलाई चन्दा दिएपछि ब्यापारी÷व्यवसायीहरु पूर्ण रुपमा स्वतन्त्र रहने अवस्था छ । महंगी बढ्नुको पछाडि चन्दा नै कारण देखिन्छ । चुनाब सकिएसंगै महँगीने बजार अनि फितलो अनुगमन, कारबाही गर्न बाँधिएको सरकारी हात कै कारण सर्वसाधारणको निमित्त सधै नै कस्टकर बनेको छ नेपाली बजार ।
आज देश असमझदारीको राजनीति गर्दैछ, एकले अर्कोलाई हैसियत देखाउनको लागि गर्ने पार्टी गतिविधि वास्तवमा अस्वभाविक देखिन्छ । देश महामारीको अवस्थामा रहँदा आफूलाई जनताको शक्ति भन्न रुचाउने कसैले पनि पार्टी कोषबाट जनतालाई राहत बाडेको सुनिएन । पूर्वराजाको जतिको सदाशयता पनि वर्तमानमा आफूलाई जनहितका मशिहा ठान्ने शक्तिको देखिएन । कर्म कुकर्मबाट उठाएको करोडौंको ब्यालेन्सको प्रयोग कहिलै रचनात्मक देखिएन । शक्ति प्रदर्शनको निमित्त ओसारिने भाडाका मान्छे अनि ताम्झाम र रमितामा खर्च हुने करोडौं रकमको उपदयेता देश र जनताको लागि पटक्कै हुन सकेन । पैसाको स्रोत अस्पष्ट मात्र होइन, खर्चको पनि कुनै मापदण्ड छैन ।
राज्यको कुनै त्यस्तो संरचना छैन जसले पार्टीको आर्थिक गतिविधि माथि प्रभावकारी निगरानी राख्न सकोस् । निर्वाचन आयोग निरीह छ, प्राबिधिक कुरा बाहेक केही बुझ्न आवश्यक देख्दैन । प्रजातन्त्रमा जिम्मेवार हुनुपर्ने प्रमुख पात्र राजनीतिज्ञ नै हुन्, अनि उनीहरु गोलबद्ध हुने ठाउँ उनका संगठन अर्थात् पार्टी । देशले न राजनीतिज्ञ पायो न राम्रो पार्टी नै । अनि कहाबाट भ्रष्टाचार रोकिन्छ ? कहाँबाट महंगी नियन्त्रण हुन्छ ? पात्र नै गलत भएपछि प्रवृत्ति कसरी सुध्रिन्छ ? हाम्रो देशमा कानुन अरुलाई हेरेर बनाइन्छ, राजनीतिमा लाग्नेहरु फुकेको साँढे जस्तो वातावरणमा रमाउन चाहन्छन् । आफैं सबैको राम्रो उदाहरण बन्नुपर्ने राजनीति आर्थिक अराजकतामा रुमालिएपछि त्यसको परिणाम कसरी राम्रो आउँछ ?
सबैले बुझ्नुपर्ने कुरा के हो भने, आर्थिक अराजकता सबैभन्दा ठुलो जन निराशाको कारण हो, यसले नै नेतालाई कलंकित गर्दछ, कुपात्र मा परिणत गर्दछ । हिजो जनताको बाहुबलमा संरक्षित अवस्थाको सुखद अनुभव संगाल्ने नेतृत्वसँग आज सत्ता छ, तर त्यो सुखद अवस्था छैन । राजनीति जनश्रद्दाको घेराबाट बिदा भएपछि कस्तो हुँदो रहेछ ? त्यसको अनुभव आजको नेतृत्वले राम्रैसँग गरेको हुनुपर्छ, मुखले बोल्न नमिलेपनि । जनताको हातमा आफूलाई समर्पित गरिदिने नेतृत्वको जिम्मा जनताले लिन्छ, त्यस्तो नेताको खर्च जनताले भर्छ । यो पुस्ताले यस्तो नेता पाउने अवस्था त देखिँदैन तथापी आशावादी हुनुको विकल्प पनि छैन ।