काठमाडौं, ३१ साउन । लिम्पियाधुरा, लिपुलेक, कलापानी क्षेत्रलाई नेपालको नक्सामा राख्ने प्रधानमन्त्री केपी शर्मा ओलीको ऐतिहासिक कार्यको पहिलो वक्तव्य संसदमा प्रस्तुत भएसंगै भारतलाई हेर्ने दृष्टिकोण सुरु भएको बहसको सन्दर्भमा माउण्टेन टेलिभिजनबाट प्रसारित एक रिपोर्टलाई लिएर बढेको सरगर्मीको एउटा पाटाको परिणाम देखिन आएको छ । मूलभूत रुपमा प्रधानमन्त्री ओलीले दिनु भएको भारत सम्बन्धी केही भनाईलाई लिएर डा.बाबुराम भटृराईमा देखिएको तिब्र असन्तुष्टि र आक्रोसको विषयलाई समेटेर बनाइएको उक्त रिपोर्टको कारण सम्बन्धित पक्षमा आएको तरंग वास्तवमा हेर्न लायक थियो ।
प्रधानमन्त्रीले जब वैदेशिक मामिलामा राष्ट्रिय अडान राख्छन, त्यो बेला विदेशीको पृष्ठपोषण गर्नु भनेको गम्भीर राष्ट्रघात नै हो । आन्तरिक राजनीति, सन्तुष्टि–असन्तुष्टि देश भित्रको कुरा हो । यस्तो सामान्य ज्ञान समेतको मतलब नगरी प्रधानमन्त्रीलाई भष्मासुर, धुन्धकारी, अधम जस्ता शव्दहरुसहितका ट्वीट तथा वक्तव्यहरुमार्फत गरिएको आलोचनासंगै यस्तो प्रवृत्तितर्फ इसारा गर्दै माउण्टेन टेलिभिजनले “भारतीय प्रवक्ताको शैली” भन्ने शव्द राखी बनाएको रिपोर्टकै कारण तरंगित डा.बाबुराम राजनीति, वक्तव्यबाजी, टेलिभिजनको कार्यालय घेराउदेखि लिएर प्रेस काउन्सिललाई समेत कानुनी आधारमा टेक्दै एउटा गम्भीर राजनीतिक निर्णय गराउन सफल भएको छ ।
टेलिभिजनबाट प्रसारित एक रिपोर्टको सन्दर्भमा आएको यस निर्णयको टेलिभिजनले कानुनी उपचार खोज्नेछ र कानुनी जवाफ त दिने नै छ । तथापी प्रजातन्त्र, प्रेस स्वतन्त्रता र जनताको जनजीविकाको कुरा गरेर कहिल्यै नथाक्ने डा. बाबुराम भटृराईहरुले एक टेलिभिजन रिपोर्टको सन्दर्भमा बनाएको धारणाले राजनीतिक परिदृष्यमा कस्ता कस्ता व्यक्तिहरु हावी छन भन्ने कुराको स्पष्ट संकेत गर्दछ ।
प्रसारणपछिको केही दिनमै सामाजिक संजालमा मात्रै झण्डै १९ हजारले शेयर गरेको, १६ लाखले हेरेको र हजारौंले प्रतिक्रिया दिएको उक्त रिपोर्टबाट राजनीति गर्ने मान्छेहरुले केही सिक्नु पर्ने कि नपर्ने ? करीव ३५।४० लाख जनमत ल्याएको पार्टीले प्रधानमन्त्री बनाउने यो देशमा यत्रो ठूलो जनमतलाई जनमतको रुपमा हेर्नु पर्ने कि नपर्ने ? जनताको प्रतिक्रियालाई हेर्दै आफ्नो भूमिका परिवर्तन गर्नुपर्ने कि नपर्ने ? यदि जनताको विचारलाई चुनावको बाकस भित्र मात्रै हेर्नु पर्ने हो भने, पत्रकारिता नागरिक समाज र विद्धत वर्गहरुको स्थान चांही कहाँ हुन्छ होला ?
यी सबै अनुत्तरित प्रश्नहरुको उत्तरको आशा त छोडि दिउँ । माउण्टेन टेलिभिजनलाई बहिष्कार गरौं भन्दै, सामाजिक संजालमार्फत उद्घोष गरिएको स्वंयम बाबुराम भटृराईकै निजी पेजमा यो रिपोर्ट बनाउँदासम्म करीब आठसय प्रतिक्रिया रहेछ । जसमा झण्डै ९० प्रतिशत प्रतिक्रिया दिनेले डा.बाबुराम भटृराईको नभई माउण्टेन टेलिभिजनको समर्थन गरेको देखिन्छ । यसलाई उहाँले कसरी हेर्ने होला ? नेताले जनमत बुझ्न सक्नुपर्छ । वास्तविकतालाई मोड्न खोज्नु भनेको जनमतको उपहास हो ।
जनमत बुझ्न नसक्नु देश र जनतालाई नेतृत्व गर्छु भन्ने व्यक्तिलाई सुहाउँदो विषय हुँदै होइन । जहाँसम्म माउण्टेन टेलिभिजनको सवाल छ, स्थापना कालदेखि नै यसले राष्ट्र, राष्ट्रियताका साथै, विकृति, विसंगति र भ्रष्टाचारको विषयलाई प्रमुखताका साथ प्रसारण गर्ने नीति लिएको छ । यो टेलिभिजन, लोक कल्याणकारी विज्ञापन खानको लागि खोलिएको होइन ।
जनताको आवाज बुलन्द गर्न र जनतामा हुने हरेक प्रकारको शोषण दमनको आवाज बन्नको लागि खोलिएको हो । यस टेलिभिजनलाई कसैको चाकडी गर्नु छैन । सत्य, तथ्य र निष्पक्ष समाचार नै टेलिभिजनको कार्य क्षेत्र हो । हामीलाई जनताले रुचाइ दिए पुग्छ, माया गरिदिए पुग्छ । बाँकी केही चाहिएको छैन, चाहिँदैन पनि । विगतमा पनि भ्रष्टाचारमूलक संस्था लुथरन फेडरेसनको सम्बन्धमा खोजमूलक समाचार प्रसारण गर्दा माउण्टेन टेलिभिजनलाई कालो सूचीमा राखिएको अनुभव हामीसंग छ । यी सबै आरोह अवरोहलाई हामी हाम्रा जुझारु पत्रकार, सम्वाददाता र हामीलाई माया गर्ने जनताको साझा सम्पत्ति हो भन्ने ठान्दछौं । वास्तविकता नै पहिचान हो, कार्यशैली हो । यो हिजो थियो, आज छ र भोलि पनि रहनेछ ।