नेकपा अध्यक्षद्वयबीच नियुक्तिलाई लिएर नयाँ विवाद

काठमाडौं, ४ भदौ । नेकपाको विवाद समाधान सम्बन्धी प्रस्ताव तयार गर्न गठित कार्यदल गृहकार्यमा जुटिरहेका बेला दुई अध्यक्षबीच केही नियुक्तिलाई लिएर विवाद देखिएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष दाहालबीच सरकारका पछिल्ला नियुक्तिलाई लिएर विवाद देखिएको हो ।

बिहीबार प्रधानमन्त्री ओलीसंग बालुवाटारमा भएको भेटमा अध्यक्ष दाहालले कार्यदल गठन भएयताको नियुक्तिप्रति असन्तुष्टि जनाएको बताइएको छ । दाहालले प्रधानमन्त्री ओलीसंग पछिल्ला नियुक्ति सच्चाउन माग समेत गर्नु भएको छ । प्रधानमन्त्री ओलीले कार्यदल गठनअघि नै प्रक्रियामा रहेका विषयहरूमाथि निर्णय गरिएको र कार्यदल गठनपछिको विषय नरहेको स्पष्ट गरेको जनाइएको छ ।

नियुक्तिको निर्णय नसच्याए विवाद समाधान गर्न गठित कार्यदलको काम प्रभावित हुन सक्ने दाहालको सुझाव छ । नेकपा भित्रको विवाद समाधानका लागि गत शुक्रबार महासचिव विष्णु पौडेलको संयोजककत्वमा ६ सदस्यीय कार्यदल गठन भएको थियो । कार्यदलले सहमितको मस्यौदा बनाउने गृहकार्य गरिरहेको छ ।

Leave a Reply