राजनीतिकै लागि अभिष्ट बन्दै गएको भूतपूर्व प्रधानमन्त्रीहरु (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राजनीतिकै लागि अभिष्ट बन्दै गएको भूतपूर्व प्रधानमन्त्रीहरु (भिडियोसहित)

सम्पादकीय
काठमाडौं, १९ असार । नेपालमा मौलाएको राजनीतिक अस्थिरतासँगै बिना खास पृष्ठभूमि राजनीतिको उच्चतम पद प्रधानमन्त्रीको कुर्सीमा आसिन हुने र त्यही विकृतिको कारण पदमुक्त भई बन्ने भूतपूर्व प्रधानमन्त्रीको दर्जा नै कहीं राजनीतिक अस्थिरताको मुख्य कारण त होइन ? यसतर्फ पनि गम्भीर भएर सोच्नु जरुरत देखिएको छ ।

प्रजातन्त्रको स्थापनासँगै थुप्रै सरकारहरु बने । प्रधानमन्त्री बनुँला भन्ने कल्पना समेत नभएकाहरु समेत, संयोगले प्रधानमन्त्री बने । संयोगले प्रधानमन्त्री बनेका व्यक्तिहरुबाट जनताको र राष्ट्रको हितमा क्रान्तिकारी काम हुन सक्ने कुरै भएन । एकपछि अर्काे हुँदै थपिंदै गएको भूतपूर्व प्रधानमन्त्रीहरु, हुँदाहुँदै यति ठूलो संख्या हुन गयो कि, पार्किङ गर्ने ठाउँ समेत मिलाउन राज्यलाई हम्मेहम्मे पर्ने अवस्था आएको छ । अरु देशमा राष्ट्रपति भइसकेको व्यक्ति प्रधानमन्त्रीको रुपमा, प्रधानमन्त्री भइसकेका व्यक्ति अर्थमन्त्री र गृहमन्त्रीमा पदासिन हुँदै देश र जनताको लागि टिमवर्कमा काम गर्ने स्प्रिट नेपालमा देखिएन ।

बैठक स्थलमा कुर्सी राखेकै नमिलेको कारणले झगडा हुने व्यक्तित्व टकरावले गर्दा, राजनीति कुनै पनि बेला दुर्घटना हुन सक्ने मोडमा जहिले पनि पुग्यो । प्रजातन्त्रको पुनस्थार्पनापछिको पहिलो वर्ष बनेका प्रधानमन्त्री स्वर्गीय कृष्ण प्रसाद भटृराईले, उनको पहिलो कार्यकाल खासै टकरावपूर्ण स्थितिमा बिताउनु परेन । त्यसपछि प्रधानमन्त्री बन्ने स्वर्गीय गिरिजा प्रसाद कोइरालाका प्रमुख प्रतिद्धन्दी बने उनकै सहकर्मी कृष्ण प्रसाद भटृराई । यो तिक्तताले त्यतिबेला ठूलै हलचल ल्यायो । पार्टी भित्रै ३६ से र ७४ रे गटुको जन्म भयो । पछि संयोगले प्रधानमन्त्री बन्न पुगेका शेरबहादुर देउवाले त व्यक्तित्व टकरावकै कारण कहिल्यै फुटको संघारमा नगएको नेपाली कांग्रेसलाई चोइट्याएरै देखाइदिए ।

त्यही सिलसिला प्रचण्ड र डा.बाबुराम भटृराईमा पनि लागू भयो । यी दुई पात्रमा पनि व्यक्तिगत टकराव बढ्यो, जसले गर्दा प्रचण्डलाई भए भरको सत्तोसराप गर्दै डा.बाबुराम भटृराई आफ्नो गुट सम्हाल्नतर्फ लागे । अहिले नेकपामा देखिएको प्रधानमन्त्री ओली बाहेकका तीन जना भूतपूर्व प्रधानमन्त्रीहरुको राजनीतिक गतिविधिलाई नियाल्ने राजनीतिक विश्लेषकहरु, यही पुरानो विरासतदेखि हुंदै आएको गम्भीर राजनीतिक टकरावकै कारण विवादले घर जमाएको देख्छन ।

प्रधानमन्त्रीको अगाडि गम्भीर समस्या छ । समस्या के भने, तीन चार जना प्रधानमन्त्री बनाउन मिल्दैन । प्रधानमन्त्री नपाइकन यी नेताहरु खुशी हुंदैनन् । यस्तो अवस्थामा नेकपाले भोग्नु परेको परिणतीलाई सहज तरिकाले हल होला भनेर सोच्नु, राजनीति र प्रवृतिलाई बुझ्न नसक्नु नै हो । राजनीतिले पनि के गरिदियो भने, आपूलाई वरिष्ठ भन्ने यी नेताहरुलाई जसरी पनि रंगमञ्चमा उफ्रिरहनको निमित्त विशेष स्थान दिइनै रह्यो । यिनले चुनावी प्रतिस्पर्धा पनि सुरक्षित ठाउँबाट मात्रै गर्नुपर्ने, जसरी पनि जित्नै पर्ने, संयोगले चुनाव हारे पनि, हरप्रकारको तिकडम गरेर संसद भित्र ल्याउनै पर्ने एउटा विचित्रको राजनीतिक अभ्यास पार्टीहरुले गर्दै आए । शीर्षस्तको नाउँमा आफ्नो पद र प्रतिष्ठालाई पैत्रिक सम्पत्ति जस्तो गर्दै उपभोग गर्दै आए ।

नेपालमा यसैबाट जन्मियो, सबै प्रकारको विकृतिहरु । दोश्रो संविधान सभामा प्राविधिक रुपमा विजय हासिल गर्ने प्रचण्डदेखि लिएर हारेका माधव नेपाललाई समेत संसदमा ल्याई प्रधानमन्त्री बनाउन सफल नेपालको राजनीतिमा, फेरी बामदेवको खोजी हुनु बिडम्बना नै मान्नुपर्छ । यसैलाई भन्नुपर्छ, चेत नखुलेको राजनीति । अब नेपालको राजनीति, राजनीतिमा नयाँ कुराको खोजी हुनु जरुरत छ । वरिष्ठताको आधारमा होइन, सुझबुझको आधारमा योग्य र सक्षम व्यक्तिलाई राजनीतिमा आउने वातावरण बनाउन जरुरी छ ।

पदमा गएर केही गर्न नसक्नेहरुलाई पटक पटक फेरी अवसर दिने होइन । उनीहरुलाई त सहज राजनीतिक पार्किङको व्यवस्था गर्दै पार्किङतर्फ पठाउने वातावरण बनाउनु पर्छ । देशले निडर, निर्भिक र सान्दार निर्णय गर्न सक्ने क्षमतावान राजनेताहरुको जोजी गरिरहेको छ । यो देशको आवश्यकता पूरा गर्नको निमित्त पहिलो पुस्ता, देश्रो पुस्ता होइन, तेश्रो र चौथो पूस्तामा पनि नेतृत्वको खोजी गर्ने वातावरण बनाउनु पर्छ ।

यहाँनिरी जनताको चलाखी पनि संवेदनशील हुनसक्छ । के आउँदो चुनावमा भूतपूर्व प्रधानमन्त्रीहरुलाई चुनावबाटै हराएर सहज निवृत्त हुने वातावरण पो बनाइ दिने कि ? यदि, यस्तो नसोच्ने हो भने, अझै थुप्रै वर्ष यी बुढेसकालका नेताहरुलाई नेपालले झेल्नु पर्नेछ । त्यो बोझ नेपालीका लागि अत्यन्त महँगो सिद्ध हुनसक्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);