सम्पादकीय
काठमाडौं, १ साउन । नेपालको आर्थिक वर्ष समाप्त भएको छ । यो आर्थिक वर्षले कति जना व्यवसायीहरु कहाँबाट कहाँ पुगे ? माथि उक्ले कि तल झरे ? त्यसको विस्तृत समीक्षा त हुँदै होला तर सिंगो वर्ष व्यवसायीहरुको निम्ति भने अत्यन्त निराशापूर्ण रह्यो । सिंगो व्यवसायी जगत हर प्रकारले तनावग्रस्त रह्यो । यसको कारण कोरोनालाई मात्र मानियो भने अर्थतन्त्रलाई बुझ्न नसकेको भन्ने अर्थ लाग्न सक्छ ।
आर्थिक वर्षको सुरुदेखि नै बैंकमा लगानी योग्य रकमको अभाव झेलेको व्यवसायी वर्ग पछिल्लो समय झनै सम्भावनारहित अवस्थामा धकेलिंदै गए । एक दुई वटा सीमित व्यवसायी बाहेक देशको अर्थतन्त्रलाई प्रतिनिधित्व गर्ने पर्यटन, यातायात, साना तथा मझौला उद्योगहरु सबै नै सतप्रतिशत रुपमा प्रभावित रहे ।
यो सिंगो वातावरणसंगै देश भित्र ठूलो बेरोजगारीको अवस्था देखिएको छ । केही बचेखुचेका व्यवसायीहरु पनि जीवनमरणको संघर्षमा छन् । आन्तरिक उत्पादन लगभग शून्य छ । अर्थतन्त्र पूरै आयातमा निर्भर हुने अवस्थामा पुगेको छ । बाढी पहिरो र डुबानले गर्दा कृषि क्षेत्र पनि उत्साहजनक देखिएको छैन ।
यस प्रकार सबै क्षेत्रलाई मूल्यांकन गर्ने हो भने, लगभग भूकम्पको वर्ष २०७२ लाई पनि यो वर्षले उछिन्ने देखिएको छ । यस्तो अवस्थामा पनि सरकारको अर्थनीति उत्साहजनक छैन । पारम्परिक र झारा टार्ने कुरा भन्दा बाहेक अर्थतन्त्रलाई अगाडि बढाउने कुनै कार्यक्रम देखिएको छैन । अर्थमन्त्रीको उपस्थिति अर्थतन्त्रले महसुस गर्न सकेको छैन । ट्रेड युनियन र राजनीतिक कार्यकर्ताहरु, अर्थतन्त्रको लागि चुनौति बन्दै गइरहेका छन् ।
हरेक चुनौतिको चेपुवामा सर्वसाधारण नागरिक बन्दै गएका छन् । सर्वसाधारणको पक्षमा बोलिदिने यतिबेला कोही देखिएका छैनन् । राजनीतिक वितण्डा देख्दा अझै थुप्रै समय अर्थतन्त्रमा सुधार हुन सक्ने लक्षण देखिएको छैन ।
यी सबै चुनौतीहरुको बाबजुद आर्थिक वर्ष २०७६।७७ नेपालबाट बिदा भएको छ । राम्रो मौद्रिक नीति र भारतसंग भएको विवादलाई अर्थतन्त्रमा रुपान्तरण गर्न सकियो भने आउँदो वर्ष नेपालीको लागि सुखद वर्षको रुपमा रहन पनि सक्छ ।