२० लाख भन्दा कम कारोबार र २ लाखसम्मको आम्दानी गर्नेका लागि नयाँ कर प्रणाली | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

२० लाख भन्दा कम कारोबार र २ लाखसम्मको आम्दानी गर्नेका लागि नयाँ कर प्रणाली

काठमाडौं, १ साउन । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले करदातालाई सम्मानजनक व्यवहार गर्न आन्तरिक राजश्व विभागका कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ ।

आन्तरिक राजश्व विभागले २० लाख भन्दा कम कारोबार गर्ने र २ लाखसम्मको आम्दानी गर्ने करदाताका लागि बिहीबार देखि सुरु गरेको नयाँ कर प्रणालीको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले करदातालाई सम्मानजनक व्यवहार गर्न निर्देशन दिनुभएको हो ।

उहाँले बिहीबारदेखि लागू भएको नयाँ कर प्रणालीमा करका अंक, ब्याज र जरिबाना सफ्टवेरले नै गणना गर्ने भएकाले कर अधिकृतले स्वविवेकले करका अंकहरु गणना गर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो ।

अर्थ मन्त्रालयका राजश्व सचिव रामशरण पुडासैनीले बिहीबार देखि लागू भएको कर प्रणालीले साना करदाताको लागत घटाउन सहयोग पुग्ने बताउनुभयो । नयाँ प्रणालीले करिब ५ लाख करदाता लाभांवित हुने उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी आन्तरिक राजश्व विभागका महानिर्देशक विनोद बहादुर कुँवरले आन्तरिक राजश्व विभागका सबै कारोबारलाई प्रविधि मैत्री बनाउने बताउनुभयो । बायोमेट्रिक प्रणाली र विभिन्न जिल्लामा १० वटा नयाँ करदाता कार्यालयको सञ्चालन पनि बिहीबारदेखि सुरु गरिएको कुँवरले उल्लेख गर्नुभयो ।

सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत २० लाख भन्दा कम कारोबार गर्ने र दुई लाख सम्म आय हुनेहरुका लागि कर चुक्ता गर्न नयाँ प्रणालीको विकास गरिने व्यवस्था गरिएको थियो । सोही व्यवस्था अनुसार आन्तरिक राजश्व विभागले बिहीबार देखि नै नयाँ कर प्रणालीलाई कार्यान्वयनमा ल्याएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);