४० वर्षपछि नेपालको आर्थिक वृद्धिदर ऋणात्मक (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

४० वर्षपछि नेपालको आर्थिक वृद्धिदर ऋणात्मक (भिडियोसहित)

कोरोना महामारीले विश्वमै नकारात्मक असर छाडिरहेका बेला सबैभन्दा ठूलो धक्का भने नेपाल र नेपाल जस्तै अर्थतन्त्र भएका मुलुकहरुलाई लागेको छ । गत वर्ष नेपालको आर्थिक वृद्धिदर १ दशमलव ९९ प्रतिशत ऋणात्मक रहेको तथ्यांक विभागले जनाएको छ । जुन ४० वर्ष यताकै पहिलो नकारात्मक वृद्धिदर पनि हो । कोरोना संक्रमण शुरु भएलगत्तै सरकारले जारी गरेको लकडाउनकै कारण मुलुकको आर्थिक वृद्धिदर खुम्चेर १ दशमलव ५४ प्रतिशतमा झरेको थियो ।

गत वैशाखमा मात्रै २ दशमलव २७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने आंकलन तथ्यांक विभागको थियो । जेठबाट मुलुकको आर्थिक गतिविधि नियमित हुने प्रक्षेपण गरेकोमा असारसम्म नै लकडाउन लम्बिनाले विभागको प्रक्षेपण अनुसार प्रतिफल आउन नसकेको प्रष्ट छ । यसअघि अर्थमन्त्रालयले वृद्धिदरका सम्बन्धमा गर्दै आएका दावी र सार्वजनिक गरेका सबै तथ्यांकलाई स्वयं तथ्यांक विभागले मिथ्यांकमा परिणत गरिदिएको छ ।

अर्थमन्त्रालयले कोरोना महामारीकै कारण नेपालको अर्थतन्त्रले त्यतिसाह्रो मार खेप्नु नपरेको बताईरहँदा तथ्यांक विभागले भने वृद्धिदरको कहाली लाग्दो अवस्थाको चित्रण गरेको छ । २०७२ सालको भूकम्प र त्यसलगत्तै छिमेकी राष्ट्र भारतले लगाएको नाकाबन्दीबाट समेत प्रभावित हुन नसकेको वृद्धिदर यसपटक भने खुम्चिएर ऋणात्मक हुने संकेत देखिएको तथ्यांक विभागले सार्वजनिक गरेको छ ।

आर्थिक वर्ष २०७२÷०७३ मा पनि मुलुकको आर्थिक वृद्धिदरले शून्य दशमलव २ प्रतिशत भन्दा तल झर्नुपरेको थिएन । नेपाल कृषि प्रधान देश भए पनि कुल गार्हस्थ उत्पादनमा कृषिको योगदान घट्दो छ । योसँगै विभिन्न माहामारी र प्रकोपको असर सिधै गैर कृषि क्षेत्रले व्योहोर्नु पर्नाले पनि आर्थिक वृद्धिदर प्रभावित बन्न पुगेको हो । सरकारले गत आथिक बर्षमा साढे ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेर आर्थिक कार्यक्रम ल्याएको भएपनि चैतपछिको अवस्था फेरिँदा अर्थतन्त्रमा ठूलै असर परेको छ ।

तथ्यांक विभागको अध्ययनले कोरोनाकै कारण सबैभन्दा ठूलो मार आवास तथा भोजन सेवा र यातायात तथा भण्डारण क्षेत्रले ब्यहोरेको देखाएको छ । होटेल रेष्टुराँ लगायतका आवास तथा भोजन सेवामा २५ दशमलव ७ प्रतिशतका दरले आर्थिक वृद्धिदर खुम्चने अनुमान विभागले गरेको छ भने छ, भण्डारण तथा यातायात क्षेत्रमा यो दर १३ दशमलव ४ प्रतिशतमा पुग्ने देखाएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष्ष्मा सदस्य रहेका कुल १ सय ९० सदस्यमध्ये नेपाल समेत अन्य २३ राष्ट्रले कोरोना महामारीका समयमै पनि धनात्मक आर्थिक वृद्धिदर कायम गर्ने अनुमान गरिएको थियो । तर अहिले आएर ती सबै अनुमान गलत साबित भएका छन् । जसको असर चालु आर्थिक बर्षमा समेत देखिने प्रष्ट छ । आर्थिक गतिविधिमा देखिएको सुस्तताले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा समेत आर्थिक वृद्धि ४ दशमलव ६ प्रतिशतले खुम्चने अनुमान अर्थविद्हरुले गरेका छन् ।

र यो अवस्था भनेको बिगत ४० वर्ष यता पहिलो पटक हो र जसले मुलुकको अर्थतन्त्रलाई ऋणात्मक बनाएको छ । तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकले मुलुकको अर्थतन्त्रको आकार भने बढेर ३९ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको बताएको छ । विभागले सन् २०१०-११ लाई आधार बनाएर यो अध्ययन सार्वजनिक गरेको हो । गत वर्ष ३८ खर्ब ५९ अर्ब रुपैयाँ थियो । यसअघि १९६४-६५, १९७४-७५, २०००-०१ लाई आधार वर्ष मानेर प्रतिवेदन प्रकाशित हुँदै आएको थियो ।

योसँगै विभागले गत बर्षको तुलानामा प्रतिब्यक्ति आम्दानी भने घटेको देखाएको छ । अहिले प्रतिव्यक्ति आम्दानी १ हजार १ सय ३४ डलर छ, जबकि अघिल्लो गत वर्ष १ हजार १ सय ५९ डलर रहेको प्रतिब्यक्ति आय यो बर्ष घटेर १ हजार १ सय ३४ मा झरेको छ । यसरी अर्थतन्त्र कमजोर हुनुको कारणको खोजी हुनु आवश्यक छ । नेपाल जस्तो सानो अर्थतन्त्र भएको मुलुकले यस्ता खाले आर्थिक क्षति लामो समय ब्योहोर्न नसक्ने भएकाले यसबारे बेलैमा सोच्न आवश्यक छ ।



Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);