Our Network

वैशाख ९ २०७८, बिहीबार

विश्वबैंकको नेपाल सम्बन्धि प्रक्षेपणलाई अन्तर्राष्ट्रिय मुद्रा कोषको चुनौती

काठमाडाैं, २५ चैत । अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा २ दशमलव ९ प्रतिशत रहने प्रक्षेपण गरेको छ । गतसातामात्रै विश्व बैंकले चालु आबमा नेपालको आर्थिक वृद्धिदर २ दशमलव ७ प्रतिशत हुने प्रक्षेपण गरेको थियो ।

बिश्वबैंकको प्रक्षेपण सार्वजनिक भए लगत्तै कोषले विश्व बैंकको प्रक्षेपणलाई चुनौती दिंदै नेपालको आर्थिक वृद्धिदर झण्डै ३ प्रतिशत पुग्ने प्रक्षेपण गरेको हो । यसैगरि कोषले, आर्थिक वर्ष २०७८-०७९ र २०७९-०८० मा क्रमशः ४ दशमलव २ प्रतिशत र ५ दशमलव २ प्रतिशत वृद्धिदर रहने प्रक्षेपण सार्वजनिक गरेको छ ।

वल्र्ड इकोनोमिक आउटलुक, २०२१ लाई सार्वजनिक गर्दै कोषले छिमेकी राष्ट्र भारतको अर्थतन्त्र सन् २०२१ मा १२ दशमलव ५ प्रतिशत र चीनको ८ दशमलव ४ प्रतिशतले विस्तार हुने अनुमान गरेको छ । मुद्रा कोषले विश्व अर्थतन्त्र सन् २०२१ मा ६ प्रतिशत र २०२२ मा ४.४ प्रतिशतले बढ्ने अनुमान गरेको छ ।

कोरोना महामारीले सन् २०२० मा विश्व अर्थतन्त्र ३ दशमलब ३ प्रतिशतले संकुचन भएको कोषको संशोधित अनुमान छ । सन् २०२० मा मुद्राकोषमा सदस्य रहेका १९० सदस्यमध्ये दुई दर्जनभन्दा कम देशहरूले मात्र धनात्मक आर्थिक वृद्धिदर हासिल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *