सम्पादकीय
काठमाडौं, १५ असार । भारतीय चलखेलबाट सरकारलाई अप्ठेरो परेको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको खुलासासँगै एउटा महत्वपूर्ण प्रश्न नेपालीहरु माझ तेर्सिएको छ । विगत लामो समयदेखि भारतले गर्दै आएको हस्तक्षेपलाई चाकडीको भाषामा, कुटनीतिको नाम दिंदै लाचार छाँया बनी स्वीकार्दै हिंड्ने नेपाली नेतृत्वको अगाडि पनि एउटा गम्भीर औपचारिक चुनौती थपिदिएको छ ।
हामीले महँगोमा संविधान सभाद्धारा संविधान बनायौं । स्थिरताको नारा दिंदै थुप्रै नेताहरुलाई सांसद बनायौं । थुप्रै राज्य संयन्त्रहरु बनायौं । थुप्रै मन्त्री, प्रधानमन्त्री बनायौं । तर यो सबै त बाघचालको खेल पो रहेछ । प्रधानमन्त्री बनाउने र गिराउने साँचो त भारतको हातमा पो रहेछ । यो प्रसंगमा हामीले भारतलाई अनावश्यक रुपमा दोष दिनु त्यति सान्दर्भिक पनि नहोला । दोष त बाघचालको गोटी बन्ने उसकै लाचार छायाँ बन्न रुचाउने, दास मानसिकताबाट माथि उठ्न नसकेका, पदलोलुप आफ्नै नेताहरुलाई दिनुपर्ने हुन्छ ।
पटक पटक प्रधानमन्त्री भएर कुर्सीदेखि कहिल्यै नथाक्ने, नेपाली जनतालाई आफ्नो कार्य कुशलता कहिल्यै देखाउनु नपर्ने, पार्टी भित्रको वर्चश्वको आधारमा सधैं प्राविधिक नेता बन्न सफल, योग्यता र क्षमता भन्दा गुटको पृष्ठपोषण गर्दै, गुटकै कारण भजन मण्डलीद्धारा स्थापित विचित्रको नेतृत्व नै यो देशको समस्या हो ।
यही नेतृत्वले नै रोटी बेटीको नातादेखि भाइभाइको सम्बन्धको व्याख्या गर्दै आफ्नो देशमा आउने भारतीय विषादीयुक्त तरकारी र फलफूलको विषादी परीक्षण गर्न खोज्दा समेत गर्न नदिने, भारतीय प्रवृत्तीको पृष्ठपोषण गर्यो र गरिरहेको छ । जबसम्म यस्ता लेण्डुपहरुको देश भित्र राज रहन्छ, तबसम्म देशले कुनै पनि प्रकारको निर्णय गर्न नसक्ने, गरिएको निर्णय लागू गर्न नसक्ने र अन्तत देशकै सार्वभौमसत्ता माथि गम्भीर प्रश्न खडा हुने निश्चित छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालबाट शुरु गर्नु भएको राष्ट्र राष्ट्रियता र सार्वभौमसत्तासँग सम्बन्धित केही नीतिगत निर्णयले झस्किएको छिमिकी देश भारत फेरी एक पटक उहाँ विरुद्ध खनिन पुगेको छ ।
गोटी बनेका छन प्रधानमन्त्रीकै पार्टीका नेताहरु । भारतलाई के थाहा छ भने, यो बेलामा यदि सत्ता परिवर्तन गरिदिन सकियो भने भविष्यमा आउने कुनै पनि सत्ताले भारतको विरोध गर्ने आँट गर्ने छैनन् र ऊप्रति नतमस्तक रहनेछन् । त्यसैले सामान्य कुटनीति मर्यादाको समेत ख्याल नगरी खुलेआम भारतीय सत्ता नेपाली सत्ताको विरोधमा लागेको छ । यसको सम्पूर्ण दृष्टान्त भारतीय संचार माध्यमहरुमा छताछुल्ल देखिन पुगेको छ । अब प्रधानमन्त्रीको अगाडि, नेपाल भित्र गम्भीर दुई प्रश्न खडा भएको छ । पहिलो, भारतले भने अनुसार उसकै इसारामा चल्ने वा नेपाली जनताको भावना अनुसार राष्ट्रको लागि गर्नु पर्ने महत्वपूर्ण कर्म गरी जनताको अगाडि अविस्मरणीय राज नेता बन्ने । निश्चय पनि प्रधानमन्त्री ओलीले अब दोश्रो बाटो रोज्नु पर्छ ।
आफ्नो उद्देश्य अनुसार नै राष्ट्र र राष्ट्रियतालाई शीरमाथि राखी महत्वपूर्ण राष्ट्रवादी निर्णय गर्नुपर्छ । देशको सीमालाई नियमन गर्नुपर्छ । कालापानी क्षेत्रलाई समेटेर बनाइएको नक्सा सम्बन्धमा भारतीय नेतृत्व छलफल गर्न तयार छैन भने, त्यसलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ । सार्वभौमसत्तामाथि जथाभावी सूचना प्रवाह गरी जनतालाई नेपाल विरुद्ध दिग्भ्रमित गर्ने भारतीय संचार माध्यमको नेपालमा भइरहेको सहज पहुँचलाई पुनर्विचार गर्नुपर्छ । भारतीय सत्ताले नेपालमा रहेको उसको राजदूतावासमार्फत वितरण गर्दै आएका अनुदान र विकृत कार्यक्रमहरु तत्काल बन्द गर्नुपर्छ ।
भारतीय दूतावासलाई अरु देशका दूतावास सरहको स्तरमा व्यवस्थित गर्नुपर्छ । नेपालमा उत्पादन हुन नसक्ने अत्यावश्यक वस्तुहरुको आयातको बैकल्पिक व्यवस्था गरी उत्पादनशील क्षेत्रलाई पहिचान गरी आन्तरिक उत्पादनबाट नै देश चल्ने वातावरणको सृजना गर्नुपर्छ । नेपाली बजारमा भारतीयहरुको वर्चस्वलाई तत्काल हटाउनुपर्छ । आफ्नो देशको कानुन अनुसारको शासन पद्धती र आफ्नै मौलिकता अनुसार देश चल्ने वातावरण बनाउनुपर्छ । केही समय अगाडि चिनियाँ राजदूतको सामान्य भेटघाटलाई ओली सत्ताप्रति चिनियाँहरुको समर्थन रहेको भन्ने हल्ला, नेपाली तथा भारतीय संचार माध्यमहरुले गरे ।
यो हल्लासँगै चिनियाँ पक्षले आन्तरिक राजनीतिमा आफू असंलग्न रहने नीति स्पष्ट पारे । तर यसबाट भारतीयलाई आफ्नो कुल देवता ठान्ने नेतृत्व पंक्तिका केही नेताहरुमा विचित्रको आत्मविश्वास पलाएसँगै असुरक्षित बन्दै गएको वर्तमान सरकारको वर्तमान सत्ताले के बुझ्नु जरुरी छ भने, यदि यो सत्ताले माथि भनिएका कार्यक्रम अघि बढाएमा स्वयं जनताले नै साथ दिनेछन् ।
भूईंचालोले थाङथिलो भई बिना घर सडकको बास हुनुपरेको अवस्थाबाट, किंचित नडगमगाई सरकारको समर्थन गर्ने नेपाली जनता अनि कोरोनाको महामारीलाई महाकालीको प्रसंगसँग सजिलै विर्सन सक्ने नेपाली मानसिकता, राष्ट्रियताप्रति कति संवेदनशील रहेछ भनेर सजिलै बुझ्न सकिन्छ । उपेन्द्र यादव र राजेन्द्र महतो जस्ता नेतालाई समेत संसदमा परम राष्ट्रवादी भाषण गर्न बाध्य पार्ने नेपाली जनताको राष्ट्रिय भावना माथि कही कतैबाट खेलवाड हुने कुरा, नेपाली जनताको लागि स्वीकार्ने हुने छैन ।
यदि कुनै नेतृत्वबाट यस्तो कुराको आभाष मात्रै पाए भने ती नेतालाई नेपाली जनताले अब बहिस्कार गर्नेछन् । कारबाही गर्नेछन् । सम्बन्धित सबैलाई समयमै चेतना होस् ।