एजेन्सी, ६ असार । स्पेनीस ला लिगाको उपाधि होडमा रहेको बार्सिलोनालाई ठुलो धक्का लागेको छ । लिग अन्तर्गत सेभियाविरुद्ध गोलरहित बराबरीमा रोकिएपछि बार्सिलोनालाई उपाधि यात्रामा धक्का लागेको हो ।
सेभियाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोना गोलरहित बराबरीमा रोकियो । यसको फाइदा दोस्रो स्थानको रियाल मड्रिडलाई भएको छ । प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टिमले बारम्बार मौका पाउँदा गोल गर्न सकेनन् ।
खेलको १२ औं मिनेटमा सेभियाका जुलेस कोउन्डेको प्रहारलाई बार्सिलोनाका गोलकिपरले बचाए । २१ औं मिनेटमा लियोनल मेस्सीको प्रहारलाई गोललाइनबाट बचाए । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा पनि दुबै टिमबाट गोल हुन सकेन ।
यो बराबरीपछि शिर्ष स्थानको बार्सिलोनाको ३० खेलमा ६५ अंक भएको छ भने एक खेल कम खेलको रियालको ६२ अंक छ ।
योसँगै ला लिगाको उपाधि होडपनि रोमाञ्चक मोडमा पुगेको छ । अब रियालले आइतबार हुने खेलमा रियाल सोसिडाडसँग जीत निकालेमा अंक बराबरी गर्ने मौका पाउनेछ ।




