डडेलधुरा, ५ असार । डडेलधुरामा यतिबेला किसानलाई धान रोप्न भ्याइ नभ्याइ छ । मानो रोपेर मुरी फलाउने महिनाको रुपमा असारलाई लिइन्छ । असारे महिनाको यतिबेला डडेलधुराका खेतमा किसान व्यस्त छन् ।
जेठको अन्तिम सातादेखि शुरु भएको रोपाइ यतिबेला निकै बाक्लिएको छ। तर,डडेल्धुराका अधिकांश खेतीयोग्य जमिनमा धान खेती हुदै आएपनि अकाशेपानीको भर पर्नुपर्ने बाध्यता त छदैँछ । यसमा पनि यस वर्ष पनि धान रोपाइ शुरु भएपनि मलको अभाव झेल्नुपरेको छ ।
डडेल्धुरा कृषि ज्ञान केन्द्रको तथ्यांक अनुसार जिल्लाको कुल जनसंख्याको ९० प्रतिशत भन्दा बढी जनसंख्या कृषिमा आश्रित छ । डडेल्धुरामा ६ हजार हेक्टर क्षेत्रफल जमिनमा धान खेती गरिन्छ । डडेल्धुराको कुल क्षेत्रफलमा खेतीयोग्य जमिन ३० प्रतिशत मात्रै छ । जसमध्ये ७ प्रतिशत कृषियोग्य जमिन सिचाई अभावमा बाँझै छन्।
खेतीयोग्य जमिनको १५ प्रतिशत क्षेत्रमा मात्रै बाह्रै महिना सिंचाईको सुविधा भएपनि अन्य क्षेत्र आकाशमा निर्भर रहनुपर्ने बाध्यता छ । जिल्लामा वर्षेनी मल अभाव हुदै आएकोमा यस वर्ष पनि यस्ताे नियती दोहोरिएको छ । मल विना धान रोप्न बाध्य भएका डडेधुराका किसान यस वर्ष पनि विगतकै पिरलो झेल्नुपरेको छ । यद्यपी मलका लागि कृषि ज्ञानकेन्द्रले धनगढी कृषि सामाग्री लिमिटडलाई आग्रह गरेपनि कार्यान्वयन हुन नसकेको केन्द्रको प्रतिक्रिया छ ।
डडेलधुराका किसानले पनि यस वर्ष मल र सिचाइको अभावमै धान रोपाइमा जुटेका छन् । मुख्य खाद्यबालीको रुपमा रहेको धानको लागि चाहिने पानी र मल समेत सरकारी निकायले उपलब्ध गराउन नसक्दा किसानले मार खादै आएका हुन् । सरकारले कृषि प्रधान देश भन्दै नीतिमा जति लेखेपनि व्यवहारमा देखिन नसक्दा किसानले समस्या झेल्नुपरेको हो ।