ज्येष्ठ नागरिक : मुलुकका निधि : दुई दर्जन मुद्धा | ईमाउण्टेन समाचार

Our Network

माघ २६ २०७९, बिहीबार

ज्येष्ठ नागरिक : मुलुकका निधि : दुई दर्जन मुद्धा

jestha-nagarik

काठमाडौँ, १ असार । कृष्णहरि बास्कोटा 

१. ज्येष्ठ नागरिकको जनसंख्या :
विश्वमा आएको परिवर्तनको असरले नेपालमा पनि ज्येष्ठ नागरिकहरूको जनसंख्या द्रुत गतिमा वृद्धि हुँदैछ । विश्वमा ६० वर्ष माथिको जनसंख्या १३ प्रतिशत छ भने नेपालमा करिव ३० लाख जेष्ठ नागरिक अर्थात् ८.२६ प्रतिशत जनसंख्या रहेको छ । जेष्ठ नागरिकको विश्व जनसंख्या बार्षिक ३% ले बढीरहेको र सन् २०५० सम्ममा करिब २१% हुने अनुमान छ ।

सन् २०५० मा ज्येष्ठ नागरिकको कूल संख्या १० बर्ष मुनिका कूल बालबालिकाभन्दा बढी हुनेछ । एक प्रक्षेपण अनुसार आगामी सन् २०२५ मा ईटली र जापानको कूल जनसंख्याको ३४ प्रतिशत जनसंख्या ज्येष्ठ नागरिकको हुनेछ । यसैगरी सन् २०२५ मा जर्मनीको ३२.२ प्रतिशत, स्पेनको ३१.४ प्रतिशत, बेलायतको २९.४ प्रतिशत, फ्रान्सको २८.७ प्रतिशत, चीनको २८.६ प्रतिशत, भारतको १३.१ प्रतिशत र नेपालको १२ प्रतिशत हुनेछ ।

२. ज्येष्ठ नागरिकका समस्याहरु :
ज्येष्ठ नागरिकहरु सामाजिक, आर्थिक र स्वास्थ्य सुरक्षा लगायत राज्यबाट प्राप्त हुनुपर्ने सेवा सुविधाबाट बञ्चित रहेका छन् । ज्येष्ठ नागरिकहरू अन्य समूहको तुलनामा पीडित, कुण्ठित र दयनीय अवस्थामा गुज्रिएका छन् । ज्येष्ठ नागरिकको रेखदेख र सहयोग गर्ने व्यक्तिहरूको अभाव घर भित्रै पनि खड्कदो छ भने भएकाहरूमा पनि वृद्धावस्था व्यवस्थापनको सीप एवं अनुभवको अभाव छ ।

गाउँबाट शहर, शहरबाट विदेशमा हुदै बसाई सराई र बढ्दो वैदेशिक रोजगारीका कारण ज्येष्ठ नागरिकको हेरचाह र पालनपोषणमा चुनौति थपिंदै गएको छ ।

३. समस्या समाधानका लागि के गर्नुपर्छ ? :
ज्येष्ठ नागरिकका सन्दर्भमा सरकारले तत्कालीन, मध्यकालीन र दीर्घकालीन रणनीति तथा कार्यक्रम तय गर्र्नुपर्छ । ज्येष्ठ नागरिकको वहुमूल्य ज्ञान, सीप र अनुभवलाई समग्र समाज र राष्ट्रको हितमा परिचालन गर्नुपर्छ । आम सचेतीकरण, सम्बाद र सहकार्य मार्फत अन्तरपुस्ताबीचको दूरी कम गरी ज्येष्ठ नागरिकलाई आफ्नो परिवारमा खुशीपूर्वक बस्ने वातावरण सृजना गर्नुपर्छ ।

ज्येष्ठ नागरिकको लागि आवश्यक राहत र पुनःस्र्थापनाको कामलाई प्राथमिकीकरण गर्नुपर्छ । ज्येष्ठ नागरिकको संरक्षण र सम्वद्र्धनका लागि तत्कालीन विशेष कार्यक्रमहरू संचालन गर्नुपर्छ । ज्येष्ठ नागरिक संरक्षणसम्वन्धी जनचेतना अभिवृद्धि गर्नुपर्छ । ज्येष्ठ नागरिक स्याहारकर्ता तालिम संचालन गर्नुपर्छ । ज्येष्ठ नागरिकलाई आर्थिक सुरक्षाका साथै आत्मनिर्भरताको लागि ज्येष्ठ नागरिकको क्षमता अनुसार सीपमूलक तालिम दिनुपर्छ । ज्येष्ठ नागरिक सम्वन्धी समग्र सूचना एबं तथ्यांक संकलन एवं व्यवस्थित गर्न स्रोत केन्द्रको स्थापना हुनुपर्छ ।

आम ज्येष्ठ नागरिकको प्रोफाईल तयार गरी उनीहरुको क्षमता अनुसार राष्ट्र निर्माणमा उपयोग गर्नुपर्छ । ज्येष्ठ नागरिकको अधिकार संरक्षण का लागि अभियान संचालन गर्नुपर्छ । ज्येष्ठ नागरिक संवन्धी जनचेतनामूलक गतिविधि संचालन गर्नुपर्छ । यस विषयलाई समुदायमा सुसुचित गराउनु पर्छ ।

४. ज्येष्ठ नागरिक भत्ता :
हाल सरकारद्धारा प्रदान गरिदै आएको मासिक रु ३ हजारको भत्ता तत्कालैदेखि मासिक रु ५ हजार पु¥याउनु पर्छ । भबिष्यमा यो रकम जीवन धान्न पुग्ने बराबरको हुनु पर्छ । ७० देखि ८० बर्षका लाई मासिक रु ५ हजार भत्ता दिने, ८० देखि ९० बर्षका लाई मासिक रु १० हजार दिने, ९० देखि १०० बर्षका लागि मसिक रु २५ हजार दिने र सो माथिका लाई मासिक रु ५० हजार दिने गरी बर्गिकरण गर्नुपर्छ ।

सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने प्रयोजनका लागि जेष्ठ नागरिकलाई अन्य समूहसंग आबद्ध नगरी छुटृै राख्नु पर्छ । यसो भएपछि आबश्यक परेका बखत जेष्ठ नागरिकलाई मात्रै संबोधन गर्न सहज हुनेछ ।

५. बृद्धाश्रम, दिवा सेवा केन्द्र र अन्य सुविधाहरु :
वृद्धाश्रम तथा दिवासेवा केन्द्रहरूको निरीक्षण, सुपरिवेक्षण अनुगमन गर्नुपर्छ । ती कानूनले तोकेको मापदण्ड अनुसार संचालन हुनुपर्छ । सबै सातैओटा प्रदेश र सबै ७५३ पालिकाले बृद्धाश्रम निर्माण गरी निशुल्क संचालन गर्नुपर्छ । साथै, जेष्ठ नागरिक मिलन केन्द्र, जेष्ठ नागरिक चौतारो वा जेष्ठ नागरिक आरोग्य आश्रम तयार गरी निशुल्करुपमा संचालनमा ल्याउनु पर्छ ।

ज्येष्ठ नागरिकलाई मनोरञ्जन एवं शारीरिक योगा तथा व्यायाम गर्नका लागि ज्येष्ठ नागरिक वाटिका÷पार्कको स्थापना गर्नुपर्छ । कम्तिमा हाललाई केन्द्र र प्रदेश स्तरमा नयाँ प्रविधियुक्त भौतिक सुविधा सम्पन्न ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको स्थापना गर्नुपर्छ । ताकि ज्येष्ठ नागरिकहरू दिनचर्यालाई सहजता ल्याउन सकियोस् ।

बिभिन्न बर्षका बजेटमा सातै प्रदेशमा जेष्ठ नागरिक ग्राम बनाउने, आरोग्य आश्रम बनाउने, सार्बजनिक निजी साझेदारीमा जेष्ठ नागरिक ग्राम बनाउने भनेपनि सो काम हुन सकिरहेको छैन । यस्को पहल हुनुपर्छ । पटक पटकको बजेट बक्तव्यको प्रतिबद्धता अनुरुप सबै जिल्लामा जेष्ठ नागरिकको स्वास्थ्य सेवा र बासस्थान सहितको एकीकृत आरोग्य आश्रम अभियानकै रुपमा खोल्नु पर्छ । निजी क्षेत्रको सोसल कर्पोरेट रेस्पोन्साविलिटीमा यस क्षेत्रमा पनि लगानी गर्ने गरी सहजिकरण गर्नुपर्छ ।

६. शिक्षा र बौद्धिक विकास :
जेष्ठ नागरिकहरुले पनि बिहान बेलुकी करिब २।२ घण्टा लेखपढ गर्ने प्रबन्ध गर्नुपर्छ । कसैले पिएचडी वा एमफील गर्छु भनेमा छात्रबृत्तिको प्रबन्ध गर्नुपर्छ । जेष्ठ नागरिकले कुनै स्कूल वा कलेजमा प्राध्यापनको ईच्छा जाहेर गरेमा प्रति सेसन न्यूनतम पारिश्रमिक दिने कोषको प्रबन्ध गर्नुपर्छ ।

जेष्ठ नागरिकद्धारा लिखित पुस्तक साझा प्रकाशन वा एकेडेमीले मुद्रित गरिदिनु पर्छ । स्कूल र कलेजको पाठ्य सामाग्रीमा बुढेसकाल जीउने कला र उनीहरुप्रति गर्नु पर्ने सम्मानको विषय समावेश गर्नुपर्छ ।

७. स्वास्थ्य सेवा :
प्रत्येक अस्पतालमा जेष्ठ नागरिकको उपचारको विज्ञ चिकित्सक, उपकरण, वार्ड र बेडको व्यबस्था गर्नुपर्छ । हामीले जेरियार्टिक वार्ड खडा गर्न ढिला गर्नु हुदैन । यस विषयमा विज्ञ चिकित्सक उत्पादन गर्न छात्रवृृत्ति दिन जरुरी छ । ज्येष्ठ नागरिकको उपचारका लागि विशिष्टिकृत छुट्टै राष्ट्रिय अस्पताल निर्माण गर्नुपर्छ ।

ज्येष्ठ नागरिकका लागि आवश्यक मल्टी भिटामिन र क्याल्सियम वितरण गर्नुपर्छ । नेपाल सरकारले ७५ बर्षमाथि उमेर समूहका मुटु रोगी बिपन्न भएमा निशुल्क अपरेशन गरिदिने व्यवस्था गरेको छ । यो उमेर ७० वर्षमा झार्नुपर्छ ।

ज्येष्ठ नागरिकलाई सबै उपचारमा सरकारी र सामुदायिक अस्पतालमा निःशुल्क र निजी अस्पतालमा ७५ वा ५० प्रतिशत छुटमा सेवा पाउने व्यबस्था गर्नुपर्छ । जेष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा दिने र छुटमा एयर एम्बुलेन्स सेवा दिने प्रबन्ध गर्नुपर्छ ।

८. सार्वजनिक यातायातमा छुट सुविधा :
बस, ट्याक्सी, हवाई जहाज लगायतमा ज्येष्ठ नागरिकलाई कम्तिमा ५० प्रतिशत छुट दिने र सिट छुट्याउने व्यबस्था गर्नुपर्छ । हाल सार्वजनिक सवारी साधनमा जेष्ठ नागरिकलाई छुट र सुविधा दिने सम्बन्धी कार्याबिधि, २०७० जारी भै बसमा २ सिट छुट्याउने र ५० प्रतिशत भाडामा छुट दिने व्यबस्था छ । यस्का लागि पेन्सनपटृा, मतदाता परिचयपत्र वा जुनसुकै परिचयपत्र देखाए पनि सुबिधा पाउने प्रबन्ध गर्नुपर्छ । सबै हवाई जहाजमा ज्येष्ठ नागरिकले छुट सुबिधा पाउने प्रबन्ध गर्नुपर्छ ।

जेष्ठ नागरिक सवार मोटरको सामान्यतः ट्राफिक प्रहरीबाट चेकजाच नगर्ने व्यबस्था हुनुपर्छ । जेष्ठ नागरिकले आप्mनो प्रयोजनकाका लागि मोटर किन्दा राजश्वमा केही छुट दिनुपर्छ र पछि निजको नामबाट अर्कोको नाममा नामसारी गर्दा भने छुट दिईरहनु पर्दैन । हाल यो सुविधा विदेशी कुटनीतिज्ञहरुलाई प्रदान गरिएको छ ।

९. घर, जग्गा, अपार्टमेण्ट खरिदमा सुविधा :
जेष्ठ नागरिकलाई घरजग्गा खरिदमा राजश्व छुट दिनुपर्छ । कुनै कम्पनीले अपार्टमेण्ट निर्माण गर्दा कम्तिमा १० प्रतिशत घर वा प्mल्याट ज्येष्ठ नागरिकलाई २५ प्रतिशत छुटमा दिने गरी क्रस सव्सिडीको प्रबन्ध गर्नुपर्छ ।

१०. वीमा रकम बृद्धि गर्ने :
सरकारले योगदानमा आधारित स्वस्थ्य वीमाका लागि जेष्ठ नागरिकको प्रिमियम सरकारले नै तिरी दिने व्यवस्था छ । यो वीमा रकम एकलाखबाट बढाई रु १० लाख पुर्याउनु पर्छ । साथै, यो सुबिधा करिब ३० लाखको संख्यामा रहेका सबै ज्येष्ठ नागरिकले पाउनु पर्छ ।

११. अर्थोपार्जजन, स्वरोजगार र व्यवसाय करमा छुट :
कुनै जेष्ठ नागरिक आफैले संचालन गर्ने व्यबसाय भए आयकरमा ५० प्रतिशत छुट दिनु पर्छ । जेष्ठ नागरिकलाई स्वाबलम्वनका लागि प्राईम लोकेशनमा (एयरपोर्ट, सिंहदरवार आदि) कारोवार गर्न दिनु पर्छ । पेन्सनवाला जेष्ठ नागरिकलाई निश्चित उमेरपछि पेन्सनमा १० र २५ प्रतिशत रकम थपेर दिनुपर्छ । जेष्ठ नागरिकको आफ्नै आम्दानीको बैंकको बचत खातामा ५० प्रतिशत अतिरिक्त व्याज दिनु पर्छ ।

यसैगरी आफैले कुनै व्यबसाय गर्ने गरी रु ५ लाखसम्मको श्रृण लिएमा ३ प्रतिशतसम्म व्याज लाग्ने प्रबन्ध गर्नुपर्छ । साथै सो परियोजनाको बीमा गरी प्रिमियममा सरकारले अनुदान दिनु पर्छ । जेष्ठ नागरिक उत्थान कार्यक्रम घोषणा गरी व्यबसायका लागि वीऊ पूजि दिने प्रबन्ध गर्नुपर्छ । ज्येष्ठ नागरिकले पनि व्यबसाय गर्न सक्ने गरी बैक र वीमा कम्पनीहरुले सहजिकरण गर्नुपर्छ ।

१२. पुरस्कारको व्यवस्था :
मुलुकभरीका जेष्ठ नागरिकमध्ये उत्कृट काम गर्ने, योगदान गर्ने १० प्रतिभालाई बर्षेनी रु १० लाखका दरले पुरस्कृत गर्ने गरी कोषको व्यबस्था गर्नुपर्छ । यस्तो पुरस्कार प्रदान गर्ने प्रणाली हरेक क्षेत्रमा छ । स्थानीयस्तरमा योगदान गरेका जेष्ठ नागरिकको सम्मानमा पालिकहरुले उहांहरुको नाममा कार्यक्रम, सडक बनाउनु पर्छ ।

१३. दुव्र्यबहार निमूल गर्ने :
ज्येष्ठ नागरिक माथि हुने दुव्र्यवहार बिरुद्ध आवश्यक कानुनी सल्लाह तथा परामर्श दिन हेल्प लाईन स्थापना गर्नु पर्छ । दुव्र्यबहारको जड सम्पत्ती पनि हो । यसर्थ, ज्येष्ठ नागरिकले आर्जेको सम्पतीमा निजको ईच्छा अनुसार हुने व्यबस्था गर्नुपर्छ । ज्येष्ठ नागरिक प्रति गरिने दुव्र्यवहारलाई दण्डनीय बनाउनु पर्छ ।

१४. ज्येष्ठ नागरिकलाई प्राथमिकता दिने :
जुनसुकै ठाउमा जेष्ठ नागरिकको छुटृै लाईनको व्यबस्था हुनपर्छ । हाम्रा सुबिधाहरु अन्तराष्ट्रिय मापदण्ड अनुसारको हुनुपर्छ ।

१५. छोरा छोरीको दायित्व :
छोरा छारीको मासिक कमाईको आमा वुवाको आग्रह अनुसार १० देखि २५ प्रतिशत आमा वुवाले पाउने कानून निर्माण हुनुपर्छ । ज्येष्ठ नागरिकहरूको वृद्धावस्था व्यवस्थापन गर्न ज्येष्ठ नागरिकका परिवार वा उनीहरुका स्याहार सुसारमा संलग्न स्याहारकर्तालाई तालीम संचालन गर्नुपर्छ ।

१६. स्थानीय सरकारको जिम्मेवारी :
संघीय सरकारले दिएको भत्ताको अतिरिक्त पालिकाले पनि केहि दिनुपर्छ । जुन पालिकाले आमा वुवालाई मासिक खर्च पुग्ने गरी सामाजिक सुरक्षा भत्ता दिन्छ, सो आमा वुवाको सम्पत्ती शेखपछि पालिकामा जाने कानून बनाउन सकिन्छ । हाल केही पालिकाले परिचयपत्र बितरण गर्ने, केहीले यातायातमा सहूलियत दिने, कसैले सिरक, कसैले थर्मस, कसैले लौंरो बाढेका छन् ।

केही पालिकाहरुले निशुल्क होलवडी चेक गरिदिने, कसैले चस्मा बितरण गर्ने, कसैले स्वास्थ्य शिबिर संचालन गर्ने गरेका छन् । स्थानीय सरकार संचालन ऐन, २०७४ मा समावेश भएका निम्न प्राबधानको कार्यान्वयनमा खरो उत्रिने : (क) संघ र प्रदेश कानूनको अधिनमा रही सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयन, सञ्चालन तथा व्यवस्थापन गर्ने । (ख) ज्येष्ठ नागरिकको पनि लगत अद्यावधिक, परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा सुविधाको व्यवस्थापन र वितरण गर्ने (ग) ज्येष्ठ नागरिक क्लब, दिवा सेवा केन्द्र, भेटघाट स्थल, आश्रय केन्द्रको सञ्चालन तथा व्यवस्थापन गर्ने (घ) ज्येष्ठ नागरिक केन्द्र तथा असक्त स्याहार केन्द्रको सञ्चालन र व्यवस्थापन गर्ने (ड.) ज्येष्ठ नागरिक, असक्तहरुको व्यवस्थापन सम्बन्धी अन्य कार्य गर्ने ।

१७. अन्तर्राष्ट्रिय प्रसंग :
संयुक्त राष्ट्रसंघले सन् १९९१ अक्टोवर १ देखि ईन्टरनेशनल डे अफ ओल्डर पर्सन्स (अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस) को आरम्भ गरेको हो । नेपालले सन् १९९६ देखि यो दिवस मनाउन थालेको हो । यो बर्ष हामीले २९औं दिवस मनायौं । यो बर्षको नारा द जर्नी टू एज ईक्वालिटी (उमेर बिभेदको अन्त्य गरौं) रहेको छ । यसर्थ यस्का लगि विशेष अतिरिक्त बजेट र कार्यक्रमको घोषणा गर्नुपर्छ ।

१८. ज्येष्ठ नागरिकसम्बन्धी दिवसहरु :
प्रत्येक वर्ष २१ सेप्टेम्बरका दिन विश्व अल्जाईमर चेतना दिवस मनाईन्छ । यसैगरी १ अकौटबरका दिन अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाईन्छ । साथै जून १५ का दिन ज्येष्ठ नागरिक प्रति गरिने दुव्र्यवहार विरुद्धको विश्व चेतना दिवस मनाउने गरिन्छ । यी सबै दिवस नैपालमा पनि मनाउने गरिएको छ ।

१९. मानब अधिकार घोषणापत्र :
सन् १९४८ मा जारी भएको विश्वव्यापी मानब अधिकार घोषणा पत्रमा मुख्य ५ वटा मान्यता रहेको छ । जस अनुसार स्वतन्त्रता, सहभागिता, रेखदेख, आत्मसन्तुष्टि र मर्यादा हो, जो ज्येष्ठ नागरिकले उपभोग गर्न पाउनु पर्छ ।

२०. नेपालको संबिधान :
नेपालको संबिधानको धारा ४१ मा ज्येष्ठ नागरिकको हक लेखिएको छ । जसअनुसार ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ ।

२१. ज्येष्ठ नागरिकसम्बन्धी ऐन :
ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३ सालमा जारी भएको छ । यस ऐनमा समसामयिक संशोधनको प्रयास भैरहेको छ । यस ऐनको प्रस्तावनामा ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने, निजहरुमा रहेको ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गर्ने र निजहरुप्रति श्रद्धा, आदर तथा सद्भावको अभिवृद्धि गर्ने कुरा लेखिएको छ, जस्को अक्षरशः कार्यान्वयन गरिनु पर्छ ।

यस ऐनको दफा ३ मा ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्ने कुरा लेखिएको छ भने दफा ४ मा ज्येष्ठ नागरिकको पालनपोषण तथा हेरचाह गर्नुपर्ने कुरा उल्लेखित छ । ऐनको दफा ५ मा ज्येष्ठ नागरिकलाई मर्का परेमा उजुरी दिन सक्ने व्यबस्था छ भने दफा ६ मा आफूखुश गर्न पाउने कानूनी व्यबस्था छ । यसैगरी ऐनको दफा १७ मा ज्येष्ठ नागरिक कल्याणकोष खडा गरिने प्रतिबद्धता उल्लेख गरिएको छ भने दफा २५ मा ज्येष्ठ नागरिकलाई परिचयपत्र उपलब्ध गराउने प्राबधान छ ।

कानूनका यिनै प्राबधान मात्रैको पूर्ण कार्यान्वयन हुनसकेपनि ज्येष्ठ नागरिकको कष्टकर जीवन सहजतातर्फ रुपान्तरित हुने थियो ।

२२. ज्येष्ठ नागरिकसम्बन्धी नियमावली :
मुलुकमा ज्येष्ठ नागरिकसम्बन्धी नियमावली पनि जारी भै कार्यान्वयनमा रहेको छ । यस नियमाबलीको नियम ८ ज्येष्ठ नागरिकको अभिलेख तयार गर्नुपर्ने प्राबधान छ भने नियम १२ मा न्यूनतम पूर्वाधार तथा सुविधाको व्यवस्था गर्नु पर्ने प्राबधान रहेको छ । जसअनुसार नेपालमा बृद्धाश्रम वा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र संचालन गर्दा कम्तिमा दुई रोपनी क्षेत्रफलमा आवश्यकता अनुसार ज्येष्ठ नागरिक मैत्री भवन र फर्निचरको व्यबस्था गर्नुपर्छ ।

साथै बृद्धाश्रम र दिवा सेवा केन्द्रमा शौचालय, स्नान गृह, भान्छा र भण्डार कक्ष, भोजन कक्ष, अध्ययन कक्ष र टी.भी. कक्ष, प्राथमिक उपचार कक्ष, प्रतीक्षालय र पुस्तकालयको व्यबस्था हुनुपर्छ । यस अतिरिक्त स्वच्छ पिउने पानीको व्यवस्था हुनुका साथै भवनका कोठाहरुमा हावा र प्रकाशको पहुँचका लागि पर्याप्त झ्यालहरु भएको हुनुपर्छ । यसर्थ कानूनले निर्धारण गरेको न्यूनतम् मापदण्ड पूरा भए नभएको एकीन गर्न निरीक्षण र अनुगमको कामलाई चुस्त र दुरुस्त गर्न जरुरी छ ।

२३. तीन तहका सरकारको भूमिका :
हाल मुलुक संघीयतामा रुपान्तरित भएकाले ३ तहका सरकार क्रियाशील छन् । यसर्थ संघीय सरकारले ज्येष्ठ नागरिकको मासिक भत्ता र ज्येष्ठ नागरिकसम्बन्धी राष्ट्रिय नीति निर्माण गर्नुपर्छ । यसैगरी प्रदेश सरकारले प्रदेशस्तरीय ज्येष्ठ नागरिकको अस्पताल लगायतको पूर्बाधार निर्माण सहित पालिकाहरुको समन्वय गर्नुपर्छ ।

साथै, स्थानीय सरकारको रुपमा रहेका नगरपालिका र गाउपालिकाहरुले ज्येष्ठ नागरिकको मासिक भत्ता बितरण गर्नुका साथै पालिककाको कूल बजेटको ५ प्रतिशत रकम ज्येष्ठ नागरिकको हितमा बिनियोजन बिबिध सुबिधा प्रदान गर्नुपर्छ ।

२४. राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ :
ज्येष्ठ नागरिकको मानव अधिकार, आर्थिक, स्वास्थ्य, सामाजिक सुरक्षा र सम्मानजनक जीवनयापनको अधिकार सुनिश्चितताको लागि देशभरको छाता संगठन राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ क्रियाशील छ । नेपालमा अझै पनि राज्य र समाजवाट ज्येष्ठ नागरिकसम्बन्धी विषयले प्राथमिकता पाउन सकिरहेको छैन ।

ज्येष्ठ नागरिकका विषय प्रति संवेदनशीलतामा कमी छ । यसर्थ, महासंघसंग पनि स्रोत साधनको अभाव छ । साथै, जिल्ला संघहरूको वित्तीय अवस्था पनि कमजोर छ । यसर्थ, सबैले मन, वचन र कर्मले ज्येष्ठ नागरिकका पक्षमा आआप्mनो स्थानबाट उपयुक्त पहल हुनु समयको मांग हो ।