आज २७ औँ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाइयो, दीर्घकालीन नीतिको आवश्यकतामा जोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

फूलमाया आले, काठमाडौं, १५ असोज । भविष्यतर्फ पाइला ः ज्येष्ठ नागरिकको प्रतिभाको उपयोग, योगदान र समाजमा सहभागिता’ भन्ने नाराका साथ आइतबार २७ औँ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाइयो । अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाइरहदाँ नेपालका कयौँ जेष्ठ नागरिकहरुले भने राज्यले दिएको हक अधिकार उपयोग गर्न आवश्यक परिचयपत्र समेत पाएका छैनन् । जसको कारण ज्येष्ठ नागरिकहरु सेवा सुविधा पाउनबाट वञ्चित भएका छन् ।
ज्येष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमा पुहँच पुर्याउने उदेश्यका साथ सन् १९९१ देखि हरेक वर्ष अक्टोवर १ का दिन संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर यो दिवस मनाइन्छ । ज्येष्ठ नागरिकका हकहितको संरक्षण तथा संवद्र्धनका र उनीहरुको सम्मान–आदरका लागि यो दिवस मनाउने गरिएको हो । नेपालको संविधान २०७२ को धारा ४१ मा जेष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ भनि उल्लेख गरिएको छ । तर ती उल्लेख गरिएका हक र अधिकार उपभोग गर्नका लागि आवश्यक परिचयपत्र प्रभावकारी रुपमा वितरण गर्न नसक्दा ज्येष्ठ नागरिकहरु आफूले पाउने सेवा सुविधाबाट वञ्चित हुदैं आएका छन् ।
नेपालमा ६० वर्ष उमेर पुगेका नागरिकलाई ज्येष्ठ नागरिकको सूचिमा राखिएको छ । जेष्ठ नागरिकलाई लक्षित गरी नेपालमा सरकारी तथा गैरसरकारीस्तरबाट बृद्धा आश्रमहरु खुलेका छन् । तर ती आश्रमहरुहरुले जेष्ठ नागरिक मैत्री सेवा सुविधा दिन सकेका छैनन् ।
विक्रम सम्वत २०६८ सालको जनगणना अनुसार नेपालमा कुल जनसंख्याको ९ प्रतिशत अर्थात २५ लाख वढी जेष्ठ नागरिकहरु रहेका छन् । जनगणनाको तथ्यांक अनुसार जेष्ठ नागरिकको संख्यामा बृद्धि हुदैं आएको छ । तर सेवा सुविधामा उनीहरुको पहुँच कम छ । जेष्ठ नागरिकले आफ्नो जीवनकालमा संगालेका ज्ञान, सीप र अनुभव नयाँ पुस्ताको लागि मार्ग दर्शन मानिन्छ । त्यसैले राज्यले उनीहरुको ज्ञान, सीप र अनुभवलाई राष्ट्रिय विकासमा परिचालन गर्ने दीर्घकालीन नीतिको आवश्यकतामा जोड दिनपर्ने देखिन्छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);