ज्येष्ठ नागरिकको सम्मान र हितमा ललितपुर महानगर प्रतिवद्ध छः प्रमुख महर्जन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८३, शनिबार

ज्येष्ठ नागरिकको सम्मान र हितमा ललितपुर महानगर प्रतिवद्ध छः प्रमुख महर्जन

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ज्येष्ठ नागरिकहरूको सम्मान र हितका लागि महानगरपालिकाले विभिन्न रचनात्मक तथा प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको बताउनुभएको छ ।
पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा आयोजित ‘अन्तर्राष्ट्रिय सिम्पोजियम’ लाई सम्बोधन गर्दै प्रमुख महर्जनले आफ्नो कार्यकालमा ज्येष्ठ नागरिकको मर्यादा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्नुभएको हो । प्रमुख महर्जनले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको जीवित अवस्थामै रथारोहण गराएको, उहाँको नाममा सिक्का र हुलाक टिकट प्रकाशन गरेको तथा सुरक्षा र यातायातको प्रवन्ध मिलाएको स्मरण गर्दै ती कार्यहरू ज्येष्ठ नागरिक सम्मानको प्रस्थान बिन्दु भएको बताउनु भयो । त्यसैगरी, हालै मात्र महानगरपालिकाले १०५ वर्षीया मनोमाया महर्जनको पाँचौँ ‘जङ्कु’ (रथारोहण) सम्पन्न गरेको जानकारी दिनुभयो । महानगरले ज्येष्ठ नागरिकका लागि सञ्चालन गरेका अन्य कल्याणकारी योजनाहरूबारे प्रकाश पार्दै उहाँले वार्षिक १० हजार रुपैयाँ चाडपर्व खर्च उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो ।

स्वास्थ्य क्षेत्रतर्फ महानगरले ६८ वर्ष पुगेका ज्येष्ठ नागरिकहरूलाई लक्षित गरी निमोनिया विरुद्धको खोप निःशुल्क उपलब्ध गराउन थालेको महर्जनले बताउनु भयो । निमोनियाको खोप महँगो भएपनि ज्येष्ठ नागरिकको स्वास्थ्य सुरक्षाका लागि यो अभियान प्रभावकारी रूपमा अगाडि बढिरहेको उहाँको दाबी छ । यसका साथै, जावलाखेलमा हुने प्रसिद्ध भोटो जात्रा अवलोकनका लागि जङ्कु गरिसकेका ज्येष्ठ नागरिकहरूलाई विशिष्ट अतिथिका रूपमा विशेष दीर्घाको व्यवस्था समेत गरिँदै आएको उहाँले उल्लेख गर्नुभयो ।

Leave a Reply