काठमाडौं, २८ जेठ । नेपाल तरुण दलले सांसद सरिता गिरीलाई पदमुक्त गरी कारबाही गर्न माग गरेको छ । एक विज्ञप्ति जारी गर्दै तरुण दलले सांसद गिरीलाई तत्काल पदमुक्त गरी कारबाही गर्न सरकारसँग माग गरेको हो ।
सांसद गिरीले एक टेलिभिजन अन्तरवार्तामा आफनो पदीय मर्यादा विपरीत नेपालका भूमिहरु लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई नेपालका होईनन भनेर दिएको अभिव्यक्ति प्रति नेपाल तरुण दल केन्द्रिय समितिको ध्यानाकर्षण भएको जनाएको छ ।
संविधान संशोधन प्रक्रिया चलिरहेको अवस्थामा सांसद गिरी उक्त भूमि नेपालको नभएको भनी सार्वजनिक रुपमा टेलिभिजन मार्फत अन्तरवार्ता दिनु मुलुकको स्वतन्त्रता, राष्ट्रिय अखण्डता, स्वाभिमान, राष्ट्रिय एकता विरुद्धको अभिव्यक्ति भएको नेपाल तरुण दलको ठहर छ ।
ईतिहास देखि पुर्खाहरुले बचाएको एक ईन्च भूमि पनि अतिक्रमण भएमा नेपाल तरुण दललाई मान्य नहुने जानकारी दिँदै राष्ट्रियताको सवालमा नेपाल तरुण दलले कसैसंग पनि सम्झौता नगर्ने स्पष्ट गर्न चाहेको बताएको छ । सांसद गिरीले संसदमा नेपालको राष्ट्रिय गौरवको रुपमा रहेको नेपाली सेनाको विषयमा विवादास्पद अभिव्यक्ति दिएको तर्फ समेत नेपाल तरुण दलको ध्यानाकर्षण भएको बताउँदै यस्ता अभिव्यक्ति सच्याउन जोड्दार माग गरेको छ ।
विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘साथै केपी ओली नेतृत्वको नेकपाको सरकार, सभामुख तथा सम्बन्धित संस्थाहरु राष्ट्रियताको विषयमा झण्डै तीन करोड नेपाली जनतालाई चोट पर्ने गरी बोलेकोमा संसद पदबाट निलम्बन गर्ने देखि हदै सम्मको कारबाही गर्ने प्रक्रिया थाल्नुको सट्टा मौन बस्नु नेपाल तरुण दललाई असहिए भएको छ । उक्त राष्ट्रघाती सांसदलाई तत्काल पदमुक्त गरी कारबाही गर्न माग गर्दै यस्ता अराष्ट्रिय तत्वहरुलाई कारबाहीको लागि जोड्दार माग गर्दछ ।’