बटुकनाथ झा
जनकपुरधाम,१२ जेठ । जनकपुरधाम सोमवार धनुषामा संक्रमण पुष्टि भएका तीनजना मध्ये दुई जना नेपाल प्रहरी भएको खुलेको छ । सोमवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिमा धनुषाका ३१ र ४५ वर्षीय पुरुष भनिएकाहरु नेपाल प्रहरीमा कार्यरत खुलेको हो ।
संक्रमित दुवै प्रहरी क्वारेनटाइनमा ड्युटी गर्दै आएका थिए । संक्रमितमध्ये एक जना प्रहरी सहायक निरीक्षक (असई) हुन् भने अर्को जनाको दर्जा खुलेको सकेको छैन । संक्रमित दुवै प्रहरी हाल इलाका प्रहरी कार्यालय फुलगमामा कार्यरत रहेका छन् ।
त्यस्तै अर्का ३० वर्षीय नगराईन नगरपालिका- ३ फुलगम्माका पुरुष हुन् । उनी जेठ ६ गते दिल्लीबाट आएका थिए । गाउँमा आएपछि उनलाई प्रादेशिक क्वारेन्टाइनमा राखिएको प्रादेशिक क्वारेन्टाइन गंगुलीका प्रमुख प्रमुख सन्तोष ठाकुरले बताएका छन् ।
संक्रमित तीन जनाको जेठ ७ गते स्वाब सङ्कलन गरी परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाइएको थियो ।
यस अघि प्रादेशिक क्वारेन्टाइन गंगुलीमा लगातार पाँच जना संक्रमित भेटिएपछि उक्त क्वारेन्टाइनलाई नेपाली सेनाले सिल गरेको थियो । धनुषाका १२ जना संक्रमित मध्ये ८ जना संक्रमित प्रादेशिक क्वारेन्टाइन गंगुलीमै परीक्षण गर्दा पाइएको हो । तीन जना संक्रमितलाई विशेष अस्पताल जनकपुर ल्याउने तयारी भइरहेको छ ।