झापा, ६ जेठ । भारतीय सीमावर्ती नाकासँग जोडिएको दक्षिणी झापाको कचनकवल गाउँपालिका सिल गरिएको छ । भारतबाट आएका नेपाली नागरिकमा कोरोना भाइरसको संक्रमण देखा पर्न थालेपछि गाउँपालिकाका पाँच वटा वडा सिल गरिएको कचनकवलका अध्यक्ष अञ्जार आलमले जानकारी दिए ।
कचनकवलका क्वारेनटाइनमा बसेकामध्ये १० जनालाई कोरोना संक्रमण देखिएको छ । सोमबार एक जना र मङ्गलवार ९ जनामा कोरोना देखिएपछि गाउँपालिकाले सो निर्णय लिएको अध्यक्ष आलमले बताए ।
गाउँपालिकाभित्र सात वटा वडा रहेको छ । त्यसमध्ये ५ वटा वडा भारतसँग जोडिएको छ । भारतसँग जोडिएको पाँच वटै वडा सिल गर्ने तयारी गरिसकेको उनले बताए । ‘गाउँपालिकाको १, २, ३, ४ र ५ नम्बर वडा सिल गरिएको हो,’ अध्यक्ष आलमले भन्नुभयो , ‘यी वडाहरू भारतसँग जोडिएकोले त्यहाँबाट लुकिछिपी नेपाली नागरिक भित्रिन नदिनलाई सिल र्गयौँ ।’ आजै झापाका प्रमुख जिल्ला अधिकारी, सांसद, जनप्रतिनिधि, राजनीतिक दलसँग छलफल गरेर यस बारेमा थप निर्णय गरिने उहाँको भनाई छ ।
प्रदेश सांसद वसन्त बानियाँले गाउँवासीलाई सुरक्षित गर्न गाउँपालिकाका सीमा क्षेत्र सिल गर्नुबाहेक अन्य विकल्प नरहेको बताउनु भयो । ‘गाउँवासीका सुरक्षाका लागि अहिले भारतबाट आउनेको सङ्ख्या यकिन गरी थप क्वारेनटाइन बनाउने बारेमा गाउँपालिकासँग समन्वय गरिरहेका छौ,’ उहाँले भन्नुभयो ।’
यता कोरोना नियन्त्रण तथा जिल्ला सुरक्षा समिति झापाले पनि कचनकवलको पाँच वटा वडा सिल गर्ने भनि निर्णय गरिसकेको झापाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।