काठमाडौं, ४ जेठ । संसदीय समितिले भारतका सेनाध्यक्ष एमएम नरावणेले नेपालको सीमा क्षेत्रको सम्बन्धमा दिएको अभिव्यक्तिलाई कुटनीतिक तहबाट खण्डन गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ ।
आइतबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भारतीय सेनाध्यक्ष नरावणेले नेपालको सीमा क्षेत्रको सम्बन्धमा दिएको अभिव्यक्तिलाई गैरजिम्मेवार र उत्तेजनात्मक अभिव्यक्ति ठहर गर्दै त्यसको कुटनीतिक तहबाट खण्डन गर्न नेपाल सरकारलाई निर्देशन दिएको हो । समितिले दिएको निर्देशनमा भारतद्वारा अतिक्रमण गरिएका लिम्पियाधुरा, लिपुलेक, कुटी, नाबी, र कालापानी क्षेत्रका विषयमा भारतीय सेनाध्यक्षको गैरजिम्मेवार र उत्तेजनात्मक अभिव्यक्तिको कुटनीतिक तहबाट खण्डन गर्नुपर्ने उल्लेख छ ।
भारतीय सेनाका प्रमुख नरावणेले जेठ २ गते नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा लिपुलेकको विषयमा कुनै विवाद नभएको भन्दै भारतले नेपाली भूमिमा अतिक्रमण गरेर सडक निर्माण नगरेको दाबी गरेका थिए ।