लोकतन्त्र स्थापनाको १४ वर्ष: सुशासन र समृद्धिको आकांक्षामाथि धब्बा, नागरिक निरास | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

लोकतन्त्र स्थापनाको १४ वर्ष: सुशासन र समृद्धिको आकांक्षामाथि धब्बा, नागरिक निरास

loktantra

काठमाडौं, ११ वैशाख । अढाइ सय वर्षे शाह वंशीय शासन व्यवस्थाको समूल अन्त गर्न थालिएको ऐतिहासिक दोश्रो जनआन्दोन उत्कर्षमा पुगेको दिन हो आज बैशाख ११ गते । बैशाख ११ अर्थात आजै दिन हो जनताले जितेको दिन । राजनीतिक इतिहासमा आजको दिन ऐतिहासक भए पनि पछिल्लो समय यो दिन ओझेलमा पर्दै आएको छ । पहिले पहिले यो दिन राजनीतिक दलहरु अनेक तामझामका साथ कार्यक्रम गर्थे तर अचेल त्यो दिन देख्न पाईदैन ।

जनताको बलिदानबाट स्थापना भएको लोकतन्त्र १४ वर्षको वयस्क भएको छ । लामो राजनीतिक संघर्षबाट प्राप्त लोकतन्त्र यतिबेला बयस्क भएपनि तन्दुरुस्त हुन अझै सकेन । यसको अन्तर्य हो, शासन र प्रशासनमा बेथितिको ऐजेरु पलाउनु । सामन्ती राजतन्त्रकै कारण विकास र सुशासन हुन नसकेको भन्दै विभिन्न आन्दोलन र संघर्ष हुदै आए । संघर्षको परिवेशमा तत्कालीन माओवादी र सात राजनीतिक दलको सहकार्यमा राजतन्त्र फाल्ने काम भयो । सात राजनीतिक दल र माओवादीको संयुक्त आन्दोलनलाई जनताले पनि साथ दिए । संघर्ष र आन्दोलनमा धेरै नेपाली आमाका सन्तानले बलिदान दिए । जनताको बलिदानबाट नेपाली राजनीतिको राजमार्गमा नयाँ उषा किरण छाएको हो । २०६२ बैशाख ११ मा शाही शासन सत्ताबाट हात झिकेर तत्कालीन राजा ज्ञानेन्द्रले जनताको नासो जनतालाई फिर्ता गरेको घोषणा गरेपछि लोकतान्त्रिक आन्दोलन सफल भएको हो ।

संसदीय शक्ति र विद्रोही शक्तिको गठजोडमा शाही शासन ढलेपछि राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृति अवयवहरुमा नयाँ तरंग पनि देखिए । शासन प्रशासनमा थिति, विधि र पद्धतीको विकास हुनेछ र सयौ वर्षको विभेदको समूल अन्त हुनेछ । यसको लागि मुख्य अस्त्र, लोकतन्त्र सर्वाेत्तम विधि भएको स्विकारेर जनताले राजनीतिक दललाई साथ दिएका हुन् हरेक संघर्षमा । जनताको संघर्षबाट मुलुकमा लोकतन्त्रको स्थापना भएको डेढ दशक भइरहँदा शासन व्यवस्थामा उन्नाइसबाट बीस भएको छैन । समयले लोकतन्त्रलाई १४ वर्षे वयस्क बनाए पनि विद्यमान शासन प्रवृत्तिले नागरिकमा निरासाको कारखाना चलाइरहेको छ ।

संविधानले समावेशी लोकतन्त्रको संस्थागत विकास गर्ने प्रयास गरेपनि शासकीय गलत प्रवृत्तिले नागरिकमा उत्साह भन्दा बढी आक्रोश र घृणाको बादल बाक्लिदै गएको हो । लोकतन्त्रको आवरणमा लुटतन्त्र फस्टाउदै गएपछि राजनीतिप्रति घृणाका लप्काहरु ठोक्किरहेका छन् शासकहरुप्रति । सुशासन र समृद्धिको आकांक्षामाथि धब्बा लागेपछि नेतृत्वप्रति नागरिको अविश्वासको बादल मडारिरहेको छ । लोकतन्त्रको मुल मर्ममाथि राजनीतिक नेतृत्वले नाफा घाटाको जोखना गर्दा बैशाख ११ मा जनताले उत्साह प्रदर्शन गर्न नसकेका हुन् । शासन प्रशासनको दुष्चक्रले आक्रान्त नेपाली समाज यतिबेला कोरोना महामारीले आजित छ । यस्तो विपत्तिको ख्याल नगरी सरकारले अध्यादेशको कार्ड फालेपछि नागरिकमा झनै निराशाको पारो बढेको छ । पछिल्लो सरकारी कदमले लोकतन्त्रको संस्थागत विकास भन्दा थप उपहास गरेको आम नागरिकको निष्कर्ष हो । यसर्थ जनचाहनामा लोकतन्त्रको मर्म र भावना अनुसार मुलुकलाई अघि बढाउदै समृद्धिको लक्ष्य चुम्न लोकतन्त्र दिवसले सदबुद्धि दिन सकोस् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);