एजेन्सी, २० चैत । अमेरिकामा कोरोना भाइरसबाट संक्रमितको संख्या दुई लाख नाघेको छ। न्युयोर्क टाइम्सका अनुसार बिहीबार बिहानसम्म २ लाख १४ हजार मानिसमा कोरोना भाइरसको पुष्टि भएको छ भने ४ हजार ८ सय ४१ जनाले ज्यान गुमाएका छन्।
अमेरिकामा सबैभन्दा बढी न्युयोर्क राज्यमा कोरोनाका संक्रमित छन्। त्यहाँ ८३ हजार ८ सय ८९ जनालाई कोरोना भाइरस देखिएको छ भने १ हजार ९ सय ४१ जनाको मृत्यु भएको छ।
न्युयोर्कपछि सबैभन्दा धेरै न्युजर्सीमा २२ हजार २ सय ५५ जनालाई कोरोना भाइरस देखिएको छ।
पछिल्लो २४ घन्टामामात्रै अमेरिकामा २६ हजार बढी संक्रमित भेटिएका छन्। अमेरिकी अधिकारीहरूले कोरोनाका कारण अमेरिकामा २ लाख ४० हजार जना मानिसको मृत्यु हुन सक्ने प्रक्षेपण गरेका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले १ लाख मानिसको मात्र मृत्यु भए पनि त्यो ठूलो उपलब्धि हुने बताएका छन्।




