काठमाडौं, ७ चैत । चीनको वुहानमा कोरोना फैलिएर विश्वको ध्यानाकृष्ट भएको ६० दिन पुग्दा हाम्रोमा एउटा पनि आइसियू बेड थपिएको छैन, अझै पनि भारत, चीन, थाइल्यान्ड, सिंगापुर र अमेरिकाबाट आउन रोकतोक छैन, आएकालाई पनि निष्फिक्री घुम्ने छुट छ, यो बीचमा इटलीलगायत सिंगो युरोप, इरान र अमेरिकाले असाधारण मूल्य चुकाएका छन्, तर मौका पाएर पनि हामी चुक्दै छौँ ।
नयाँ पत्रिका दैनिकले लेखेको छ । प्रभावित देशबाट आउने नेपालीलाई घरमै क्वारेन्टाइनमा बस्न भनिएको छ । तर, बसे–नबसेको अनुगमन छैन । त्यस्तै विदेशी पर्यटकलाई फारम भराएर उनीहरूले चाहेको होटेलमा बस्न भनिएको छ । होटेलबाट बाहिर ननिस्कन र घुमघाम नगर्न उनीहरूलाई अनुरोध गरिएको छ । तर, पर्यटकहरू काठमाडौं हुँदै चितवन, पोखराका रेस्टुरेन्टमा घुमिरहेका छन् । भारतका १७ राज्यमा कोरोना भाइरस फैलिएको छ । पछिल्लोपटक कोरोना देखिएको उत्तर प्रदेशको सीमावर्ती क्षेत्र लखिमपुर–खिरी नेपालका कैलाली र कञ्चनपुरबाट नजिक पर्छ ।
रुपेडिया नाका भएर भारतीय र नेपालीको लखनउ र नेपालगन्ज झन् बाक्लो आउजाउ हुन्छ । तर, सीमाका चेकपोस्टमा ज्वरो नाप्ने थर्मल गनसमेत नहुँदा नेपालमा जोखिम बढेको छ । कतिपय स्थानमा थर्मोमिटरबाटै चेकजाँच हुने गरेको छ । चीनमा कोरोना पैmलिएकै वेला अर्थात् १५ पुसदेखि फागुन अन्तिमसम्म नेपालमा दमलगायतका श्वासप्रश्वासका दुई हजार ६ सय २७ बिरामीलाई आइसियूमा राखेर उपचार गरिएको छ । यहीबीचमा श्वासप्रश्वासका कारण २० जनाको मृत्यु पनि भएको छ । श्वासप्रश्वासका बिरामीको यो संख्या नियमितभन्दा फरक र असाधारण होइन । तर, यसवेला संक्रमण पैmलिएकाले सतर्कताका लागि उनीहरूको पनि कोरोना टेस्ट गर्न स्वास्थ्य मन्त्रालयले नै निर्णय गरेको थियो । तर, अहिलेसम्म ती बिरामी कसैको पनि टेस्ट गरिएको छैन । मन्त्रालयले आफ्नै निर्णयको अनुगमनसमेत गरेको छैन ।