काठमाडौं, ४ चैत । प्रदेश २ को नामकरण र स्थायी राजधानीका लागि प्रदेश सभामा आज मतदान हुँदैछ । प्रदेश २ को प्रदेशसभा गठन भएको करिब सावा दुई वर्षपछि आज स्थायी राजधानी घोषणा हुने करिब निश्चित देखिएको छ । स्थायी राजधानी र नामकरणको लागि प्रदेशसभा सचिवालयले दलहरूले प्रस्ताव दर्ता गरेको ६ महिनापछि मतदान प्रक्रियाबाट टुंग्याउन लागेको हो । स्थायी राजधानीको सवालमा दलीय सहमति कायम भइसकेको हुँदा संवैधानिक प्रक्रिया पूरा गर्न मात्रै मतदान गर्न लागिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
शुक्रबार बसेको प्रदेशसभा बैठकमा प्रदेशको नामकरण तथा राजधानीसम्बन्धी अध्ययन विशेष समिति सदस्य परमेश्वर साहले दुवै विषयमा गोप्य मतदान प्रक्रियाबाट निर्णय लिन प्रस्ताव पेस गर्नुभएको थियो । प्रदेशसभा सचिवालयले गत ५ भदौमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूसँग प्रदेशको नामकरण तथा राजधानी तोक्न प्रस्ताव दर्ता गराउन आह्वान गरेको थियो । सो क्रममा राजधानीको लागि पाँच तथा नामकरणको विषयमा चारवटा प्रस्ताव दर्ता भएको थियो ।




