‘टुटल’ र ‘पठाओ’का सम्बन्धमा नयाँ निर्णय गरेर अघि बढ्ने सरकारको तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

‘टुटल’ र ‘पठाओ’का सम्बन्धमा नयाँ निर्णय गरेर अघि बढ्ने सरकारको तयारी

काठमाडौं, २८ फागुन । सरकारले ‘टुटल’ र ‘पठाओ’का सम्बन्धमा नयाँ निर्णय गरेर अघि बढ्ने तयारी गरेको छ । उपत्यकाका ट्याक्सी व्यवसायीहरुको ध्यानाकर्षण पत्र बुझ्दै भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ्गले ‘टुटल’ र ‘पठाओ’का सम्बन्धमा मन्त्रालयले नयाँ निर्णय गरेर अगाडि बढ्ने बताउनुभएको हो ।

‘टुटल’ र ‘पठाओ’का कारण आफ्नो व्यवसाय धरापमा परेको, कयौ चालक मजदुरहरु प्रत्यक्ष प्रभावित भएको र दैनीकजसो झडपका घटना हुने गरेको भन्दै ट्याक्सी व्यवसायीले ‘टुटल’ र ‘पठाओ’का सम्बन्धमा न्यायलयको आदेशलाई तत्काल कार्यान्वय गर्न माग गर्दै मन्त्रीलाई ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएका थिए ।

उनीहरुको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री नेम्वाङ्गले विगतमा ‘के भयो’, ‘के भएन’ भन्ने विश्लेषण गर्नुभन्दा पनि सरकार सबैको समस्या सम्बोधन र सबैलाई कानूनी दायरामा ल्याउने तयारीमा लागेको बताउनुभयो । उहाँले नीतिगत कानूनी कुराहरुलाई व्यवस्थित गर्दे व्यवहारमा रुपान्तरण गर्ने दायित्व सरकारले बोकेकाले सधैको लागि सबैको समस्या समाधान हुने गरि व्यवस्थापन गरिने आश्वासन दिनुभयो ।

उहाँले भन्नुभयो “हिजो के थियो र के थिएन होइन । हामीले सुधार गरेर जानुपर्छ । अदालतले पनि आदेश गरिसकेका विषय वस्तुहरु छन् । सबै कानूनको दायरामा भित्र जानुपर्छ । ती भित्रै समस्याका समाधान छन् । कानून कसैले पनि मिच्न पाउँछ ? ”

उहाँले ‘टुटल’ र ‘पठाओ’का सम्बन्धमा यो सर्भिस सुरु भएका देशहरुले गरेको व्यवस्थापन लगायत अन्तराष्ट्रिय अभ्यासलाई मन्त्रालयले अध्ययन गरिरहेको पनि बताउनुभयो । उहाँले ट्याक्सी व्यवसायी लगायत सबै व्यवसायीको समस्यालाई न्यायीक ढंगले व्यवस्थापन गर्दे लैजाने गरि राज्यले जिम्मेवारी लिएर अघि बढ्ने पनि स्पष्ट पार्नुभयो ।

उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाज र अखिल नेपाल यातायात मजदुर संघ उपत्यका ट्याक्सी विशेष समितिले बुधबार सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री नेम्वाङ्गलाई भेटी ६ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै आफ्ना मागको तत्काल सम्बोधन नभए संघर्षमा उत्रने चेतावनी दिएका छन् ।

विभिन्न विद्युतिय माध्यम तथा आफुखुसी भाडा तोकी निजी प्रयोजनका लागि दर्ता भएका सवारी साधनले सार्वजनिक सवारीको काम गरी प्रत्यक्ष रुपमा ट्याक्सी व्यवसाय र अप्रत्यक्ष रुपमा सम्पुर्ण सार्वजनिक यातायतलाई नै धरासायी बनाएको र सो सन्दर्भमा सम्मानित उच्च अदालत पाटनबाट परमादेश समेत जारी भएको तर कार्यान्वयन नहुँदा ट्याक्सी व्यवसाय तथा चालक मजदुरसंग दैनिकजसो झडप श्रृजना भएको र भविश्यमा हुने जटिल दुर्घटना रोक्नका लागि ऐन बमोजिम तत्काल नियमन गर्न पनि व्यवसायीले माग गरेका छन् ।

व्यवसायीले २०६९ साल देखि कायम हुनुपर्ने बैज्ञानिक भाडा समायोजन, उपत्यका भित्र सडकको पुर्वाधार, ट्राफिक व्यवस्थापनको अवस्था र अपर्याप्त ट्याक्सी स्ट्याण्ड र ट्याक्सी चालकको समयलाई मध्यनजर गरी बैज्ञानिक फ्ल्याग डाउन समायोजन गर्न, ट्याक्सी व्यवसायीको लगानीको सुरक्षा, चालको शान्ति सुरक्षा, वर्तमान ट्याक्सी संख्याको अनुपातमा ट्याक्सी स्ट्याण्डको व्यवस्थापन गर्न पनि माग गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);