‘टुटल’ र ‘पठाओ’ नरोक्न प्रधानमन्त्रीको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

‘टुटल’ र ‘पठाओ’ नरोक्न प्रधानमन्त्रीको निर्देशन

pathao-tootle

काठमाडौं, ३ माघ । प्रधानमन्त्री केपी ओलीले मोटरसाइकलमा यात्रु ओसार्ने सेवाका लागि मध्यस्थता गर्ने ‘टुटल’ र ‘पठाओ’ लाई रोक नलगाउन निर्देशन दिएका छन् । उनले यस्ता सेवालाई व्यवस्थापनको बाटो अपनाउन सकिने तर अहिले जे अवस्थामा छ, चलिरहेको छ, त्यस्तै छोडिदिन भौतिक योजना तथा यातायातमन्त्री रघुवीरमहासेठलाई निर्देश गरेका हुन् ।

मन्त्री महासेठकै निर्देशनअनुसार ट्राफिक प्रहरीले यस्ता सेवामा रोक लगाएको थियो । तर यो सेवा रोकेकामा सर्वसाधारणबाट समेत सरकारको आलोचना भएपछि प्रधानमन्त्री ओलीले मन्त्री महासेठलाई यस्ता विषयहरूमा ‘ह्याभोक क्रिएट’ नगर्न भनेका हुन् । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार बुधबार साँझ राष्ट्रिय योजना आयोगको बैठकमा यातायातमन्त्री महासेठ पनि पुगेका थिए ।

त्यहीं प्रधानमन्त्रीले टुटल र पठाओको विषयमा मन्त्रीसँग कुरा गरेका थिए । उनले बैठकमा सहभागी अन्य व्यक्तिहरूकै अगाडि बाहिर अनावश्यक ‘ह्याभोक’ सिर्जना हुने कुनै काम नगर्नुस् भने । कुनै मोटरसाइकलमा सवार व्यक्ति यात्रु हो कि परिवारको सदस्य हो कि त्यसको जाँच गर्ने के संयन्त्र छ ? भन्दै प्रधानमन्त्रीले यसलाई अहिले यथास्थितिमा राख्न निर्देश गरेको स्रोतले बताएको छ । यसअघि मदिराजन्य पदार्थको उत्पादन रोक्ने लगायतका विषयमा पनि कुनै निर्णय नभईकन बाहिर गलत खालको हल्ला चलेको प्रसंग उठाएका थिए ।

टुटल र पठाओलाई रोकेपछि यसको बारेमा बरु व्यवस्थित नीति बन्नुपर्ने, नियन्त्रण गर्न नहुने धारणा सामाजिक सञ्जालहरूमा आएको थियो । यसको सेवा लिइरहनेहरूले महँगो ट्याक्सी, सवारी जामका कारण झेल्नुपरिरहेको समस्यामा टुटल र पठाओ किफायती र सजिलो सेवा भन्दै व्यवस्थित बनाउन माग गरेका थिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मोटरसाइकलमा यात्रु ओसार्ने टुटल र पठाओलाई सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो । रातो प्लेटका सवारीसाधनले यात्रु ओसार्नु अवैधानिक हुने भएकाले कानुनी वैधता नपाएसम्म सञ्चालन गर्न नदिइने मन्त्रालयको तर्क थियो ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);