उत्तर कोरियाले जवरजस्ती क्वारेन्टाइनमा राखेका ८० विदेशीले प्योङ्याङ छोडे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

उत्तर कोरियाले जवरजस्ती क्वारेन्टाइनमा राखेका ८० विदेशीले प्योङ्याङ छोडे

एजेन्सी, २६ फागुन । कोरोना भाइरसको संक्रमण फैलिन नदिने भन्दै उत्तर कोरियाले जवरजस्ती क्वारेन्टाइनमा राखेका ८० जना विदेशीहरुले प्योङ्याङ छोडेका छन् ।

झण्डै १ महिनाको क्वारेन्टाइनपछि ८० जना विदेशीहरुलाई लिएर उत्तर कोरियाको राष्ट्रिय ध्वजावाहक विमान सुदूरपूर्वी रुसको भ्लादिभोस्तोकमा सोमवार अवतरण गरेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

उत्तर कोरिया छोड्नेमा विदेशी कूटनीतिज्ञ र दूतावासका कर्मचारीहरू छन् । कोरोनाभाइरस संक्रमण फैलिने डरले उत्तर कोरियाले राजधानी प्योङ्याङमा भएका सयौँ विदेशी नागरिकलाई क्वारन्टीनमा बस्न निर्देशन दिएको थियो ।

यसैबीच कोरोना भाइरसको संक्रमणबाट इटालीमा एकैदिन १ सय ३३ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ६६ पुगेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

इटालीका सेनाप्रमुख साल्भातोरे फारिनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमण नियन्त्रणका लागि इटालीले पछिल्लो समय निक्कै कडा कदम चालेको छ । इटालीले लोम्बार्दी र १४ प्रान्तका १ करोड १६ लाख मानिसलाई आवतजावतमा कडाइ गरेर क्वारेन्टाइनमा राखिएकोे छ ।

इटालीका प्रधानमन्त्री जुजेपे कोन्टेले कोरोना भाइरसका कारण देशभरका विद्यालय , कलेज, जिमखाना, म्यूजियम, नाइट क्लब लगायतका सार्वजनिक स्थलहरू बन्द गर्ने घोषणा गरिसकेका छन् ।

कोरोना भाइरसबाट विश्वमा १ लाख १० हजार जना संक्रमित भएका छन् भने ३८ सय जनाको मृत्यु भएको छ । कोरोना भाइरसबाट चीनले सबैभन्दा ठूलो क्षति बेहोरेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);