कोरोना संक्रमणबाट जोगिन सरकारकाे तयारी कस्तो छ ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कोरोना संक्रमणबाट जोगिन सरकारकाे तयारी कस्तो छ ?

Bhanu-bhakta-Dhakal

काठमाडौं, २३ फागुन । सरकारले कोरोना भाईरसको संक्रमणबाट जोखिनका लागि तीनै तहको सरकारबीच समन्वय र सहकार्य गरि आवश्यक व्यवस्था मिलाउने काम भएको स्पष्ट पारेको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले प्रस्तुत गर्नुभएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिंदै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले संक्रमणबाट जोगिन सरकारले आवश्यक तयारी गरिरहेको बताउनुभएको हो ।

उहाँले छिमेकी मुलुकमा पनि संक्रमण देखिएकाले हिजोको सर्तकताले मात्रै नपुग्ने भएकाले विशेष तयारीका साथ तीनै सरकारबीच समन्वय गरि विभिन्न स्थानमा चेकजाँचको व्यवस्था मिलाउने काम भईरहेको बताउनुभयो ।

कोरोना भाईरस प्रवेश गर्न नदिने, सावधानी अपनाउने, मध्यम खालको स्थितमा कसरी जोगिने र अति जोखिममा पुग्दाको संभावित अवस्थाबारे आंकलन भएको र सोही अनुसार आवश्यक तयारी गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

विभिन्न अस्पतालमा १ सय ५५ वटा आईसोलेटेड वेड निर्माण गरिएको तथा चन्द्रगढी, जनकपुर, भरतपुर, धनगढी विमानस्थलमा शुक्रबार देखि नै प्लेनमा चढ्नु भन्दा अगाडि चेकजाँच गरेर मात्रै पठाउने व्यवस्था आरम्भ गरेको जानकारी दिनुभयो ।

उहाँले कोरोना भाईरसको संक्रमणलाई लिएर प्रधानमन्त्रीकै सक्रियतामा ४ पटक बैठक बसेको तथा अहिले उपप्रधानमन्त्रीको नेतृत्वमा गृह, शिक्षा स्वास्थ्य, पर्यटन, उद्योग अर्थ लगायतका मन्त्रालय समेत समेटर उच्चस्तरीय समिति बनाईएको र यसको सचिव नेपाल सरकारको मुख्य सचिव रहने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

त्यसैगरी अस्पताल क्षेत्रसंग सम्बन्धीत रहेकालाई परिचालन गर्न सजिलो होस् भनेर मुख्य सचिवको नेतृत्वमा कार्यकारी समिति पनि बनाईएको उहाँले उल्लेख गर्नुभयो । उहाँले मन्त्रालयको तर्फबाट प्राविधिक कामको नेतृत्व सचिवले गर्ने र स्पेशल कोरोनासंग सम्बन्धित विषयका बारेमा अरुसंग संयोजनकारी भूमिका निर्वाह गर्न विशेषज्ञ दिपक रमणले गर्ने व्यवस्था मिलाईएको बताउनुभयो ।

पछिल्लो दिनमा तलसम्म सावधानी अपनाउन मुख्य मन्त्री वा मुख्य मन्त्रीले तोकेकोे अध्यक्षतामा प्रदेश स्तरमा यसको संरचना निर्माण गरिएको तथा सम्बन्धीत नाकाहरुमा र प्रभावित क्षेत्रलाई समेत समायोजन गर्ने गरी तीनै स्तरकोे सरकारको प्रतिनिधित्व हुने गरि सहकार्य गर्न भनिएको स्पष्ट पार्नुभयो ।

८९ देशमा संक्रमण

उहाँले पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म विश्वभर ९८ हजार ४ सय ७ जना कोरोना संक्रमित भएको, ३ हजार ३ सय ८७ जनाको मृत्यु भएको, ५५ हजार ५ सय ९४ जना उपचार पछि फिर्ता भएको र ८९ देशमा फैलिएको तथा छिमेकी राष्ट्र भुटानलाई पनि छोएको भन्ने समाचार बाहिर आएको भन्दै संक्रमित हुनेको दायरा छिटो छिटो ढंगले अघि बढेकोतर्फ गम्भीर बन्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो “हिजोको सावधानीले नपुग्ने अवस्थामा पुगेका छाैं । हिजो चीनमा मात्रै जोखिम हुँदा जति थियो यो रोग अमेरिका लगायत अन्य देशहरुमा फैलिएको सन्त्रासबाट दक्षिण कोरिया, जापान, इरान, अरब लगायतका मुलुकहरुको फैलावटले चाही संक्रमणको जोखिमलाई अझै उच्च विन्दुमा पुर्याएको छ । ”

भारतमा २९ संक्रमित

उहाँले छिमेकी राष्ट्र भारतमा पनि हिजो बेलुका सम्म २९ जनामा देखिएकाले भारतसंगको सम्बन्ध, आउजाउ लगायतले उच्च सर्तकतामा रहनुपर्ने अवस्था श्रृजना गरेकाले भन्सार नाका बाहेक ३७ वटा स्थानमा स्वास्थ्य विन्दुको रुपमा स्थानीय ठाउँमा चेकजाँच गर्नुपर्छ भन्ने निष्कर्षमा सरकार पुगेको र सोही अनुसारको तयारी भईरहेको बताउनुभयो ।

भारतबाट आयात हुने औषधीमा लगाएको प्रतिबन्धका सम्बन्धमा कुटनीतिक छलफल भएको र अहिलेको अवस्थामा उपलब्ध गराउँदै आएका औषधी नरोक्ने प्रतिवद्धता भारतबाट आएको पनि उहाँले स्पष्ट पार्नुभयो ।

मुल्यवृद्धि हुन्छ भन्ने आशंकामा जोखिम मोलेर भएपनि पेट्रोलिय पदार्थको स्टक राख्ने नेपालीहरुको बानी भएकोले पनि बजारमा औषधी लगायतका सामाग्रीहरु अभाव देखिएको भएपनि सरकारले आपुर्तिको सहज व्यवस्था गर्ने पनि उहाँले विश्वास दिलाउनुभयो ।

खरिपाटी र तेलकोटमा गरीएको क्वारेन्टायनको व्यवस्थालाई विश्वस्वास्थ्य संगठनले प्रशंसा पनि गरेको भएपनि विविध कारणहरुले गर्दा नेपाल उच्च जोखिममा नै रहेकाले पर्याप्त सावधानी अपनाउन आवश्यक रहेको बताउनुभयो ।

कोरोना संक्रमण र खानपानको विषयमा सामाजिक सञ्जालमा अफवाह फैलाउने काम भएको भन्दै त्यसबारे स्पष्ट पार्न सांसदहरुले गरेको आग्रहमा उहाँले भन्नुभयो “कस्तो खाना खाने स्वास्थ्य नपढेको मान्छे स्वास्थ्य मन्त्री भईएको छ । डाक्टरहरुले भनेको गर्नु डाक्टरले गरेको नगर्नु । सरहरुले भनेको मान्नु सरहरुले गरेको नगर्नु भने जस्तै खानेकुरा अहिलेको सन्र्दभमा माछा मासु खाँदा खेरी नपकाई नखानु भन्न सकिने कुरा भो । केही पनि होइन भनेर यसलाई उपेक्षा गर्ने वा सबै सन्त्रासै यही भईसक्यो अब जोगिनै गाह्रो होला कि भन्ने खालको दुईवटै अतिबाट हामीले हामीले समाजलाई बचाउनुपर्छ ।”

विदेशमा बस्ने नेपालीहरुका लागि उच्च जोखिमको मुलुकबाट आउनेहरुको प्रत्येक व्यक्तिलाई चेकजाँच गरेर मात्रै पठाउने व्यवस्था मिलाउने गरि तयारी भईरहेको बताउनुभयो ।

उहाँले वर्तमान स्थितिको मध्यनजर गर्दै सरकारले सगरमाथा संवाद स्थगित गरिसकेको र भोजभतेर, सभा सम्मेलन लगायत नगर्न आग्रह गरेको तथा संसदलाई पनि नलम्ब्याउनेबारे पनि छलफल भईरहेको बताउनुभयो ।

सरकारले साबुनपानीले हात धुने र भोजभतेर, सभासम्मेलन नगर्न भने पनि संसद संचालन भईरहेको र संसदभवनमा पानी पनि नभएको भन्ने सांसदहरुको गुनासोबारे उहाँले सभामुखको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो “साबुनपानीले हात धुने भनियो संसदमै पानी छैन भनेर माननीय ज्यूहरुले भन्नुभएको कुरा सभामुख आउनुभएकै बेला मैले पनि स्मरण गराएँ भने त्यो बोल्ने साथीलाई पनि न्याय होला भन्ने मैले ठान्दछु । अब यसका लागि स्वास्थ्य मन्त्रालयकै कारणले संसदमा पानीको अभाव भएको हो भने त्यसको बारेमा पनि छलफल गरौ । यो त अति आवश्यकिय वस्तु नै हो ।”

कोरोना संक्रमण रोक्ने सम्बन्धमा सबै राजनीतिक दल र विभिन्न क्षेत्रबाट देखाईएको चासोको प्रशंसा पनि गर्नुभयो । उहाँले भन्नुभयो “अप्ठयारो परेपछि मात्रै एक ठाउँमा आउने खालको जुन संस्कार थियो । यसपटक चाँही हामी संकटमा पर्नुभन्दा अर्थात् एम्बुसमा पर्नुभन्दा अगाडि नै हामीले ज्ञान प्राप्त गर्यौ भने त्यो जोखिम आउन नदिने कुराका लागि नै हाम्रो एकताले सफलता प्राप्त गर्न सक्छ भन्ने विश्वास मैले लिएको छु । यो कोरोना भाईरस कस्तो हो भन्दा एक जना डाक्टरले भन्नुहुन्थ्यो यो नपड्किएको एम्बुस जस्तो हो । नपड्किन्जेल खतरै छैन जस्तो देखिन्छ तर तपाई हाम्रै छेउमा छ कि परिवारमै छ कि ? छिमेकीमा छ कि ? कहाँ आईपुग्यो भन्ने कुराको कुनै अनुमान नभएको तर पड्किदाखेरी बल्ल थाहा हुने यो खालको स्थिति भएको हुनाले हामीले सावधानीका कुरालाई चाही त्यही ढंगले नै अपनाउनुपर्छ ।”

उहाँले भक्तपुरको क्वारेन्टायनलाई जगेडाको रुपमा सिडियो मातहत नै राख्ने गरी अन्य स्थान पनि खोज्ने तथा प्रदेश र स्थानीय तहमा पनि क्वारेन्टायनमा राख्ने खालको व्यवस्था गर्ने तयारी सरकारले गरेको स्पष्ट पार्नुभयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);