प्रधानमन्त्री ओलीको दुईवर्षे कार्यकाल देशका लागि दुर्भाग्यपूर्ण : बाबुराम भट्टराई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रधानमन्त्री ओलीको दुईवर्षे कार्यकाल देशका लागि दुर्भाग्यपूर्ण : बाबुराम भट्टराई

काठमाडौं, २३ फागुन । समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको दुईवर्षे कार्यकाल देशका लागि दुर्भाग्यपूर्ण रहेको बताउनु भएको छ ।

पार्टीको काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटिहरु समायोजन घोषणा कार्यक्रममा डा. भट्टराईले उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्दै बितेको दुई वर्षमा जनताले केही पनि नपाएको बताउनुभयो ।

दुई तिहाइको बहुमत प्राप्त सरकारले सामाजिक, राजनीतिक र विकास परिवर्तनको क्षेत्रमा छलाङ मार्नेगरी काम गर्नुपर्ने भएपनि त्यसो हुन नसकेको बताउनुभयो । भ्रष्टाचार नियन्त्रण र सुशासन लगायतका क्षेत्रमा सरकारले गर्न सक्ने काम समेत नगरेको उल्लेख गर्दै भट्टराईले गर्न नहुने कामहरु भ्रष्टाचार, नातावाद कृपावाद र आपसी झै—झगडाका कामहरु गरेको आरोप लगाउनुभयो । उहाँले अहिलेको सरकारको भविष्य समेत सकिएको टिप्पणी गर्नुभयो ।

सत्तारुढ दलभित्र भागवण्डाको लडाई सुरु भएको उल्लेख गर्दै भट्टराईले अर्को निर्वाचनमा देश नयाँ ध्रुविकरणसम्म जाने भएकाले त्यसको तयारीमा लाग्न जिल्ला कमिटिहरुलाई निर्देशन समेत दिनुभयो ।

समाजवादी पार्टीलाई देशको विकल्पका रुपमा अगाडी बढाउन नसकेपनि परिवर्तनको प्रकृया नरोकिने र अर्को कुनै शक्ति आएर यसलाई अगाडी बढाउने उहाँले बताउनुभयो । शुक्रबार तत्कालिन संघीय समाजवादी पार्टी नेपाल र नयाँ शक्ति पार्टी नेपालका काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटिहरु समायोजन गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);