कोरोना भाईरस संक्रमणबारे संघीय संसदलाई जानकारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

कोरोना भाईरस संक्रमणबारे संघीय संसदलाई जानकारी

काठमाडौं, २१ माघ । सरकारले नोवेल कोरोना भाईरस संक्रमण र नियन्त्रणका लागि भईरहेका प्रयासबारे संघीय संसदलाई जानकारी गराएको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सरकारको तर्फबाट स्वास्थ्य तथा जनसंख्या एवं कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले समय लिएर बोल्दै कोरोना भाईरस संक्रमण फैलिन नदिन सरकारबाट भएका कामकारवाहीको जानकारी गराउनुभएको हो ।

प्रधानमन्त्रीको नेतृत्वमा दुई पटक मन्त्रीहरु र सम्बन्धित विज्ञ सम्मलित बैठक बसेको, स्वास्थ्य मन्त्रीको नेतृत्वमा उच्चस्तरीय निर्देशक समिति बनाएको, प्रविधि र आन्तरिक व्यवस्थापनको काम संयोजनका निम्ति स्वास्थ्य मन्त्रालयको सचिवको नेतृत्वमा कार्यकारी समिति बनाएर काम भईरहेको पनि उहाँले स्पष्ट पार्नुभयो ।

संक्रमणबाट बच्नका लागि जनचेतना मुलक विज्ञापन बनाईएको र सम्बन्धित विज्ञहरुसंग विभिन्न चरणमा बैठक गरी अन्तरक्रिया, परामर्श गर्ने काम भईरहेको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले चीनमा रहेका विद्यार्थीलाई ल्याउने विषय गम्भीर प्रश्नको रुपमा रहेको र बिलम्ब नगरि ल्याउने क्रममा सरकार जुटेको स्पष्ट पार्नुभयो । उहाँले सरकार नेपाल फर्कन चाहनेलाई ल्याउन तयारी अवस्थामा रहेको र उनीहरुलाई ल्याएपछि अरुलाई संक्रमण नसरोस् भनेर पनि गम्भीर हुनुपर्ने आवश्यकता रहेकाले त्यही अनुसारको सर्तकता अपनाउने तयारी भईरहेको बताउनुभयो ।

युवान प्रान्तमा विमानस्थल बन्द रहेको र यातायात पनि सञ्चालनमा नरहेकाले स्थानीय सरकारसंगको समन्वयनमा त्यहाँका नेपालीलाई नेपाल ल्याई न्यूनतम १४ दिन क्वारेन्टाईनमा राखेर मात्रै सार्वजनिक सम्पर्कमा पठाउने गरि आवश्यक तयारी गरिएको उहाँले बताउनुभयो ।

कुनै पनि रोगको संक्रमण फैलिएको अवस्थामा संक्रामक रोग ऐन २०२० को दफा २ को ३ अन्तर्गत सरकारले आदेश जारी गरेर व्यक्तिहरुलाई राख्न सक्ने कानुनी प्रावधान अनुसार आदेश जारी गरिसकेको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले तत्कालका लागि ३ वटा अस्पतालमा ४३ वटा वेडको व्यवस्था मिलाईएको र अन्य अस्पतालमा पनि आवश्यक परामर्श भईरहेको, तत्कालका लागि काठमाडाैं उपत्यका भन्दा बाहिर पोखरा, चितवन, र भैरहवामा हेल्प डेक्सको व्यवस्था गरिएको तथा रसुवा र तातोपानी नाकालाई पनि संभावित जोखिमको ठाउँमा राखेर आवश्यक तयारी गरिएको उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले सरकारले चीनमा रहेका नेपाली विद्यार्थीलाई ल्याएर राख्ने ठाउँ नपाएको भन्ने भनाईमा सत्यता नभएको र ढिलाई गरेको भन्ने भनाईमा सत्यता नभएको दाबी गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);