काठमाडौं, २८ माघ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा ओमानले शतप्रतिशत नतिजा निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायलको क्रिकेट मैदानमा मंगलबार अमेरिकालाई ९२ रनले हराउँदै ओमानले ४ खेलमा ४ जितसंगै शतप्रतिशत नतिजा निकालेको हो ।
ओमानले दिएको २ सय ७७ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अमेरिका ३९ ओभर १ बलमा अलआउट हुँदै १ सय ८४ रनमा समेटियो । अमेरिकाका लागि निसर्ग पटेलले ५२ ,आरोन जोन्सले अविजित ४७ र इयान होल्याण्डले २८ रन बनाए । अमेरिकालाई सस्तैमा समेट्न ओमानका बिलाल खान र अकिब अयासले ३–३ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७६ रन बनाएको थियो । ओमानका कप्तान जिशन मक्सुदले १ सय ९ र अकिब इल्यासले १ सय ५ रन बनाए । अमेरिकाका सौरभ नेत्राभाल्कर र रुस्टी थेरनले ३–३ विकेट लिए ।
जितसँगै लिगको शीर्ष स्थानमा रहेको ओमानले १० खेलमा १६ अंक जोडेको छ । अमेरिका ११ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । यस सिरिजमा अमेरिका जितविहीन रहेको छ । सिरिजको अन्तिम खेलमा अमेरिकाले नेपालसँग खेल्नेछ ।




