चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४९० पुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४९० पुग्यो

wuhan-coronavirus

एजेन्सी, २२ माघ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले कोरोना भाइरसका कारण ४ सय ९० जनाको मृत्यु भएको जनाएको छ । बुधबार बिहानसम्मको तथ्यांकअनुसार चीनमा मात्रै कोरोना भाइरसका कारण ४सय ९० जनाको मृत्यु भइसकेको जनाइएको हो ।

त्यस्तै हङकङ र फिलिपिन्समा एक–एक जनाको मृत्यु भएको छ । त्यसैगरी चीनमा २४ हजार ३ सय २४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । चीनको हुबेई प्रान्तको वुहान शहर सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २७ मुलुकमा फैलिइसकेको छ । चीनबाहिर झन्डै १सय ८० जनामा यसको संक्रमण देखिएको छ ।

त्यस्तै चीनले कोरोना भाइरस संक्रमितमध्ये ९सय ११ जना निको भएको जनाएको छ । यसैबीच चीनले प्राणघातक कोरोना भाइरस प्रकोप रोकथाम तथा नियन्त्रणमा ‘कमजोरी भएको’ स्विकारेको छ । चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको पोलिटब्युरो बैठकले भाइरस नियन्त्रणमा उचित कदम चाल्न नसकेको जनाएको हो ।

देशको आपत्कालीन व्यवस्थापन प्रणालीमा सुधारको आवश्यकता रहेको समेत उसले बताएको छ । वन्यजन्तुको गैरकानुनी बजारलाई पूर्ण बन्द गर्न पनि पोलिटब्युरोले निर्देशन दिएको छ ।

कोरोनाको संक्रमण वन्यजन्तुको गैरकानुनी बजारबाटै सुरु भएको चीनको अनुमान छ । भाइरसलाई लिएर सरकारको सुरुवाती कदमबारे चीनमा व्यापक आलोचना भइरहेको छ । चीनले विश्वका अन्य देशलाई पनि यो प्रकोपमा सहयोग गर्न आग्रह गरिरहेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);