एजेन्सी, २० माघ । चीनको वुहानबाट सुरु भएको नोवल कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ सय ६२ पुगेको छ । गत डिसेम्बरमा पहिलो पटक संक्रमण देखिएयता सामेवारसम्म चीनमा मात्रै तीन सय ६१ जनाको मृत्यु भइसकेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ ।
मृत्यु हुनेमध्ये अधिकांश हुबेई प्रान्तका छन । अर्का १ जनाको भने फिलिपिन्समा मृत्यु भएको हो । फिलिपिन्समा मृत्यु हुने व्यक्ति भाइरसको उद्गमस्थल चीनको हुबेई प्रान्तस्थित वुहानबाट फर्किएका चिनियाँ नागरिक भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
त्यस्तै संक्रमितको संख्या चीनमा मात्रै १७ हजार २ सय ५ पुगेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएअनुसार चीनमा एकैदिन थप २ हजार ८ सय २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका विभिन्न २७ वटा मुलुकमा फैलिएको छ । यसैबीच चीनको हुनान प्रान्तस्थित सुआङकिङ जिल्लाको एक कुखुरा फार्ममा ‘बर्ड फ्लु’ देखिएको छ । उक्त क्षेत्र कोरोना भाइरस संक्रमणको केन्द्र मानिने हुबेई प्रान्तको दक्षिणी सिमानामा पर्ने चिनियाँ अधिकारीले बताएका छन् ।
बर्ड फ्लुको संक्रमण देखिएपछि फार्ममा रहेका सात हजार ८ सय ५० चल्लासहित चार हजार पाँच सय कुखुरा मरेका जनाइएको छ भने संक्रमणपछि १७ हजार ८ सय २८ कुखुरा नष्ट गरिएको छ ।
कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न लागिपरेको चीनलाई यसले थप समस्यामा पारेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।