नेकपा केन्द्रीय कमिटी बैठक : एमसीसीका विषयमा पार्टीको स्पष्ट धारणा सार्वजनिक हुनुपर्ने माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

नेकपा केन्द्रीय कमिटी बैठक : एमसीसीका विषयमा पार्टीको स्पष्ट धारणा सार्वजनिक हुनुपर्ने माग

काठमाडौं, १७ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का विषयमा पार्टीको स्पष्ट धारणा सार्वजनिक हुनुपर्ने माग गरिएको छ ।

बैठकमा विभिन्न १५ वटा समूह बनाएर समूहगत छलफल चलाइएको थियो । समूहहरुको छलफलमा एमसीसीका विषयमा तल्लो तहसम्मका कार्यकर्ताहरुले बुझ्ने गरी पार्टीको आधिकारीक धारणा माग गरिएको हो ।

नेकपा केन्द्रीय सदस्य गंगालाल तुलाधरले विज्ञ समूह नै बनाएर एमसीसीका विषयमा राम्ररी अध्ययन गर्नुपर्ने माग समूहगत बैठकमा उठेको बताउनुभयो । पार्टीभित्र एमसीसीका विषयमा धारणा राख्दै नेताहरुले महाकाली सन्धिपछिको अवस्था आउन नदिन शीर्ष नेताहरुलाई चेतावनी समेत दिएका छन् ।

पार्टीले उपयुक्त समयमा एमसीसीको विषयमा प्रष्ट गर्न नसक्दा समस्या उत्पन्न भएको निष्कर्ष सहित केही सदस्यहरुले अध्ययन समूह बनाएर जानुपर्नै धारणा राखेको उहाँले बताउनुभयो ।

‘हिजो महाकालीको विषयले पार्टी फुटेको अवस्था छ । अहिले एमसीसीको विषयले पनि नेकपालाई त्यही ठाउँमा लैजान्छकी भन्ने आशंका भएका छन् । त्यसैले एमसीसी के हो ? भन्ने कुरामा स्पष्ट हुनुनपर्छ भन्ने कुरा आएका छन्’, उहाँले भन्नुभयो ।

अर्का केन्द्रीय सदस्य सुरेश कुमार राईले सबै समूहमा एमसीसीका विषयमा तीन प्रकारका धारणा आएको बताउनुभएको छ । ‘यो नेपालको हितमा छ समितिबाट पास गरेर सरकारले कार्यान्वयनमा लैजानुपर्छ भन्ने एउटा धारणा ।

अमेरिका जस्तो शक्तिशाली राष्ट्रले नेपाललाई यति ठूलो सहयोग गर्नुको रहस्य के हो ? भन्ने आशंका भइरहेको बेला पार्टीले स्पष्ट पार्नुपर्ने र पार्टीको तल्लो तहसम्म भएको अनावश्यक बहस नराम्रो भएको धारणा आएको छ’, उहाँले भन्नुभयो ।

यस्तै केन्द्रीय सदस्य शिवनारायण यादवले पार्टीको आन्तरिक जीवनलाई सुदृढ गर्नुपर्ने धारणा विशेषगरी आएको उहाँले बताउनुभयो । एमसीसीको विषयमा दुई थरी कुरा आएको बताउनुहुँदै उहाँले भन्नुभयो, ‘एउटा विपन्न राष्ट्रलाई अमेरिकाले दिने सहयोग भनेर प्रचार प्रसारमा आएको छ । यो विषयमा पार्टीले उच्च स्तरिय समूह बनाएर वास्तविक कुरा ल्याउनुपर्छ । जनताको हितमा छ भने सहयोग स्वीकार गर्नुपर्ने तर राष्ट्रलाई अहित गर्छ भने लिनु हुन्न भन्ने कुरा आएको छ’, उहाँले भन्नुभयो ।

यस्तै अर्का केन्द्रीय सदस्य कमला रोक्काले एमसीसीका विषयमा पार्टीको धारण एउटै बनाएर जानुपर्ने विषयमा कुराहरु उठेको बताउनुभयो । विशेषगरी पार्टीका सबै तहमा न्यूनतम ३३ प्रतिशत महिलाको प्रतिस्पर्धा हुनुपर्ने र प्रत्येक कमिटीमा अध्यक्ष र उपाध्यक्ष हुनेगरी विधान संशोधन गर्ने र दुइ पदमध्ये एउटामा महिलाको सहभागिता हुनुपर्ने धारणा आएको उहाँले बताउनुभयो ।

यसैगरी दिनानाथ शर्माले आफ्नो समूहभित्र राजनीतिक, संगठनात्मक र विधान संशोधनको जुन गतिमा आएको छ, त्यो सबै राम्रो छ भन्ने निष्कर्ष निस्केको बताउनुभयो ।

एमसीसीको विषयमा अझ स्पष्ट पार्न नेता कार्यकर्ताहरुलाई प्रशिक्षण दिनुपर्ने धारणा पनि आफ्नो समूहमा उठेको उहाँले बताउनुभयो । उहाँले सीमा विवादका विषय कुटनीतिक, राजनीतिक र जनस्तरबाट समाधान हुनुपर्ने धारणा आएको बताउनुभयो ।

यसैगरी रेखा शर्माले दलसम्बन्धि बनेका कानूनहरु राम्ररी कार्यान्वयन हुनुपर्ने र माथिदेखि तलसम्म अध्यक्ष र उपाध्यक्ष राखि एकजना महिलाको हुनुपर्ने धारणा आएको उहाँले बताउनुभयो । त्यस्तै पार्टीका हरेक तहमा एक तिहाई महिलाको सहभागिता सुनिश्चित गर्नुपर्ने धारणा पनि आएको उहाँले बताउनुभयो ।

नेकपाको बैठकमा शुक्रबारबाट समूहगत छलफलमा उठेका विषयहरुलाई समूह नेताहरुले प्रस्तुत गरिरहेका छन् । शुक्रबार ४ वटा समूह र प्रदेश अध्यक्षहरुले आफ्नो प्रस्तुति राखेका थिए । बैठक शनिबारपनि जारी रहने छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);