काठमाडौं, १२ माघ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सरकार भन्सार राजश्वमा केन्द्रीत नभएकोले अतिरिक्त त्रासमा नबस्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ । आइतबार ६८ औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा अर्थ मन्त्री खतिवडाले व्यापार घाटा कम हुँदा राजश्व घटेको तर सरकार व्यवसायिलाई त्रास देखाएर राजश्व असुल्ने पक्षमा नरहेको बताउनुभयो ।
अर्थमन्त्री खतिवडाले सरकारले जति कर लाग्ने आय हो त्यतिमा मात्रै राजश्व उठाउने लक्ष्य राखेकोले व्यवसायीहरुलाई नडराउन आग्रह गर्नुभयो । उहाँले भन्सार राजश्व मै केन्द्रीत भएर अर्थतन्त्र लामो समय सम्म चल्न नसक्ने पनि बताउनुभयो ।
अर्थमन्त्री खतिवडाले लक्ष्य अनुरुपको राजश्व नउठ्दा समेत आफु नडराएको उल्लेख गर्नुभयो । उहाँले विदेशी मुद्रा सञ्चितिमा दक्षिण एसियामै नेपाल राम्रो रहेको र पछिल्लो समय बैंक ब्यजादर पनि तल रहेकोले अर्थतन्त्रमा कुनै समस्या नदेखिएको बताउनुभयो ।
अर्थमन्त्री खतिवडाले मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्ने र त्यसको आधारबाट औद्योगीकरणको प्रकृया अगाडि बढाइने उल्लेख गर्नुभयो । उहाँले सरकारको आय भन्सारमा केन्द्रीत नभई आन्तरिक आयमा केन्द्रीत गराई मुलुकलाई सवल सुदृढ अर्थतन्त्र तर्फ लैजाने भएको समेत बताउनुभयो ।




