काठमाडौँ, ३१ भदौ । असोज २ गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाको सम्पूर्ण तयारी पूरा भएको गृह मन्त्रालयले जनाएको छ।
निर्वाचनको सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसनधान विभाग गरी करिब ६० हजार सुरक्षाकर्मी परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश नं २ का आठ जिल्ला सप्तरी, सिराहा, महोत्तरी, सर्लाही, पर्सा, रौतहट, बारा र धनुषामा असोज २ गते १३६ स्थानीय तहका लागि निर्वाचन हुँदैछ । निर्वाचन स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सबै सुरक्षा व्यवस्थाको तयारी पूरा भएको छ ।
मतदाता ढुक्कसँग मतदान केन्द्रसम्म पुग्ने र आफूले चाहेको उम्मेदवारलाई मतदान गरी फर्कने वातावरण बनेको मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए । प्रदेश नम्बर २ मा प्रदेशमा एक महानगर, तीन उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिका छन् ।
सीमा नाका बन्द
निर्वाचनलाई मध्यनजर गर्दै गएराति १२ बजेदेखि नै निर्वाचन हुने आठ जिल्लामा भारतसँग सीमा जोडिएका क्षेत्रमा सीमा नाका बन्द गरिएको छ ।
प्रवक्ता सुवेदीले निर्वाचन हुने समयभन्दा ७२ घण्टा अघिदेखि निर्वाचन हुने सीमा जोडिएका जिल्लामा नाका बन्द गरिएको जानकारी दिनुभयो ।
निर्वाचन भइरहेका आठ जिल्ला भारतसँग सीमा जोडिएकाले सीमामा केही दिनदेखि नै विशेष निगरानी बढाइएको थियो । खुला सीमाको फाइदा उठाउँदै हतियार, विस्फोटक पदार्थ तथा आपराधिक समूह भित्रिनसक्ने नाका बन्द गरिएको हो ।
तालीम प्राप्त कुकुर
अवैध हातहतियार र आपराधिक गतिविधिमा संलग्न व्यक्ति नेपाल प्रवेश गर्न लागेमा तालीम प्राप्त कुकुरले सुघेर पत्ता लगाउने भएकाले सबै सीमा नाकामा तालीम प्राप्त कुकुर परिचालन भएका छन् ।
दुई हेलिकप्टर तयारी अवस्थामा
निर्वाचनलाई मध्यनजर गर्दै धनुषामा एउटा र बारा–पर्साको बीचमा एउटा गरी दुईवटा हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । यस्तै नेपाली सेनाको बाहिनी र केन्द्रमा समेत थप हेलिकप्टर तयारी अवस्थामा राखिएको गृह प्रवक्ता सुवेदीले जानकारी दिए ।