प्रदेश २ को निर्वाचन तयारी अन्तिम चरणमा : आयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रदेश २ को निर्वाचन तयारी अन्तिम चरणमा : आयोग

१९ भदौ ।  निर्वाचन आयोगले प्रदेश नं. २ को निर्वाचनको तयारी अन्तिम चरणमा पुर्‍याएको छ । असोज २ मा हुने निर्वाचनका लागि कर्मचारीसँगै मतपत्र पनि मतदान केन्द्रमा पुगिसकेको आयोगले जनाएको छ । यस निर्वाचनका लागि आयोगले ३० लाख मतपत्र छपाइ गरेको छ ।

 

एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका, ५९ गाउँपालिका गरी १३६ स्थानका लागि हुने निर्वाचनबाट ६ हजार प्रतिनिधि छानिँदै छन् । प्रदेश नं. २ का आठ जिल्लामा हुने निर्वाचनमा २६ लाख, ६४ हजार ९५० मतदाता सहभागी हुँदै छन् । निर्वाचन तालिकाअनुसार भदौ २१ गते उम्मेदवारको मनोयन गर्ने कार्यक्रम छ ।

 

प्रदेश नं २ मा ४५ दल सहभागी हुँदै छन् । ६८ लहरको लामो मतपत्र प्रयोग गरिने भएको आयोगका प्रवक्ता नवराज ढकालले बताए । उम्मेदवारको मनोनयन हुने दिन जम्मा तीन दिन बाँकी रहँदा प्रमुख दलहरू उम्मेदवार छान्ने चटारोमा छन् । प्रदेश नं. २ को निर्वाचनलाई मुख्य दलहरूले आफ्नो प्रतिष्ठाको लडाइँ बनाएकाले सबैको ध्यान खिच्न पुगेको छ ।

 

आचारसंहितामा चनाखो

प्रदेश नं. २ को स्थानीय तहको निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन स्थानीय तह आचारसंहिता ०७३ लाई कडाइ गरेको आयोगले जनाएको छ ।

 

सार्वजनिक पदमा रहेकाहरूले निर्वाचनको समयमा पदीय दुरुपयोग रोक्न तथा निर्वाचनलाई स्वच्छ र व्यवस्थित रूपमा सम्पन्न गर्न निर्वाचनको मिति घोषणासँगै आयोगले आचारसंहिता लागू गर्ने गरेको छ । निर्वाचन आचारसंहिताको पालनाका सम्पूर्ण पक्षको उच्चस्तरीय अनुगमन गर्न आयोगका चारजना आयुक्त तराई झरेका छन् ।

 

आयोगले उच्चस्तरीय अनुगमन गर्न आयुक्त इला शर्मा धनुषा र महोत्तरीमा, नरेन्द्र दाहाल रौतहट र सर्लाहीमा ईश्वरीप्रसाद पौड्याल पर्सा र बारामा, सुधीरकुमार शाह सप्तरी र सिरहाका लागि खटाएको हो । त्यस्तै, सूक्ष्म अनुगमनकर्ता पनि खटाउने भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । निर्वाचन आचारसंहिता उल्लंघनको विषयमा आयोगले उच्च नेताहरूलाई समेत स्पष्टीकरण सोधेको छ । एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई आयोगले पत्र काट्यो । नेता नेपालले निर्वाचनका सिलसिलामा केही त्रुटि भएको तर आचारसंहिता पालनामा पार्टी आफू पनि प्रतिबद्घ रहेको आयोगलाई शुक्रबार स्पष्टीकरण बुझाएका छन् । त्यस्तै, माओवादीका स्थानीय नेता मनोज गुप्तालाई आयोगले स्पष्टीकरण सोधेको छ । उम्मेदवारले गरेका निर्वाचन खर्चबारे पनि विशेष ध्यान दिएको दाबी आयोगको छ ।

 

अन्नपूर्ण

आयोगले पहिलो र दोस्रो तहको स्थानीय तहको निर्वाचन अगाडि आचारसंहिताप्रति राजनीतिक दलले लिखित प्रतिबद्धता जनाएका भए पनि आचारसंहिता उल्लंघनका थुप्रै गुनासा आएका थिए । अहिले आयोगले राजनीतिक दल र सार्वजनिक पदमा बसेका व्यक्ति तथा कर्मचारीलाई आचारसंहिता पालना गर्न ७ बुँदे निर्देशन पनि जारी गरेको छ ।

 

राजनीतिक दलले आचारसंहिता छिटो लगाउँदा प्रचारप्रसार गर्न नपाइएको गुनासो गरे पनि आयोगले भने निर्वाचनका लागि त्यति नै समयमा आचारसंहिता लगाउन उपयुक्त भएको बताएको छ । आयोगका प्रवक्ता ढकाल विगतमा आचारसंहिताको अवधि अझ बढी भएको बताउँछन् । निर्वाचनको स्वेच्छता र मर्यादा कायम गर्न समयमै आचारसंहिता लगाउनुपरेको उनको भनाइ छ ।

 

आवश्यकताअनुसार सुरक्षाकर्मी

सुरक्षा दृष्टिले अति संवेदनशील मानिएको प्रदेश नं. २ को निर्वाचनको भरपर्दो शान्ति-सुरक्षाको व्यवस्था गर्न आयोगले सरकारसँग निरन्तर परामर्श गरिरहेको जनाएको छ । गृह मन्त्रालयले केन्द्रीय सुरक्षा योजना, क्षेत्रीय सुरक्षा योजना र जिल्लास्तरमा पनि सुरक्षा योजना कार्यान्वयनमा ल्याइसकेको आयोगको भनाइ छ । कर्मचारी, मतदाता, उम्मेदवार र खसेको मतको सुरक्षाका लागि सबै उपाय अपनाइने भएको छ । गृह मन्त्रालयले पनि निर्वाचनमा पर्याप्त सुरक्षा प्रबन्ध गरिएको आयोगलाई आश्वस्त पारेको प्रवक्ता ढकालले बताए । निर्वाचनको मुख्य सुरक्षा प्रहरीबाट हुँदै छ । प्रजिअको कमान्डमै जिल्लामा सुरक्षाको व्यवस्था मिलाइएको छ । आवश्यकताअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले पनि सुरक्षा दिने भएका छन् । अरू सुरक्षा निकाय नागरिकको रूपमा रहने भए पनि नेपाल प्रहरी मात्रै सुरक्षाको व्यवस्था मिलाउन अग्रमोर्चामा रहनेछ ।

 

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले केन्द्रीय सुरक्षा समितिको बैठकबाट आवश्यकताअनुरूप प्रदेश नं. २ को निर्वाचनका लागि सुरक्षाकर्मीको प्रबन्ध मिलाउने निर्णय भएको जानकारी दिए । गृहमन्त्री जनार्दन शर्माले प्रदेश नं २ मा कुनै सुरक्षा चुनौती नभएको र आवश्यक सुरक्षा प्रबन्ध मिलाइएकाले निर्धक्क भएर मतदान गर्न आग्रह गरेका छन् । निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत स्वयंसेवक गरी ३१ हजार कर्मचारी परिचालन भएको आयोगले जानकारी दिएको छ ।

 

स्थानीय भाषामा मतदाता शिक्षा

पहिलो र दोस्रो स्थानीय तहको निर्वाचनमा बदर मत धेरै भएपछि आयोगले तेस्रो चरणको निर्वाचनमा मतदाता शिक्षालाई जोड दिएको छ । तर, देशमै साक्षरता दर कम भएका जिल्लामा निर्वाचन हुन लागेका कारण वदर मत घटाउने आयोगलाई चुनौती छ । मतदाता शिक्षा प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय भाषामा सामग्री तयार गरी स्थानीय सञ्चारमाध्यममार्फत प्रचारप्रसार गरिएको आयोगले जनाएको छ ।

 

त्यस्तै, मतदाता शिक्षाका लागि तराईका आठ जिल्लाका लागि भदौ १५ बाट ३५ हजार ८० स्वयंसेवक घर दैलोमै पुगेर सही रूपमा मतदान गर्ने विधि सिकाइरहेका छन् । यसअघि पनि प्रदेश नं. २ मा मतदाता शिक्षा लागू गरिएको आयोगको भनाइ छ । त्यस्तै, नमुना मतदानलाई पनि नमुना अभ्यास गराइने भएको छ । १३६ स्थानमै नमुना मतदान गरिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । त्यसका अतिरिक्त स्थानीय राजनीतिक भ्रातृ संगठन नागरिक समाज तथा विद्यार्थीलाई पनि तालिम लिईकन मतदान गर्र्ने सही तरिकाबारे बुझाउने काम गरिरहेको आयोगको भनाइ छ ।

अन्नपूर्ण पोष्टमा गोविन्द लुइँटेलले समाचार लेखेका छन्

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);