एजेन्सी, ४ पुस । पाकिस्तानको विशेष अदालतले पूर्वराष्ट्रपति परवेज मुसर्रफमाथि सुनाएको मृत्युदण्डको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । १ सय ६९ पृष्ठ लामो फैसलाको पूर्णपाठमा मुसर्रफलाई ५ पटकसम्म फाँसी दिन सकिने लगायतका आदेश समेटिएको पाकिस्तानी संचार माध्यमहरुले जनाएका छन् ।
अदालतले मुसर्रफलाई तीनवटा देशद्रोहका मुद्दासहित ५ वटा मामिलामा दोषी ठहराइएको छ । ७६ वर्षीय पूर्वसैनिक शासक मुसर्रफ अहिले दुबईमा उपचारमा छन् । यदि मृत्युदण्ड पहिले नै मृत्यु भएमा उनको शवलाई डेमोक्रेसी चोकमा ल्याएर तीन दिनसम्म झुण्ड्याउन अदालतको फैसलामा उल्लेख छ ।
विशेष अदालतका तीन जना न्यायाधीशको बेन्चमा २–१ को बहुमतले मुसर्रफलाई देशद्रोह र संविधान उल्लंघनमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको हो । मुसर्रफले भने प्रतिशोधका कारण आफूलाई गलत सजाए सुनाइएको प्रतिक्रिया दिएका छन् । मुसर्रफले विशेष अदालतको फैसलाविरुद्ध पुनरावेदनको प्रक्रिया थाल्ने बताएका छन् ।
यस अघिनै पाकिस्तानी सेनाले मुसर्रफलाई अदालतको फैसला दुःखद् रहेको र सेनालाई धक्का पुगेको भन्दै मुसर्रफको बचाउ गरेको छ । सन् २००७ को नोभेम्बर ३ मा संकटकाल घोषणासँगै संविधान निलम्बन गरेपछि मुसर्रफविरुद्ध देशद्रोहको मुद्दा लगाइएको थियो ।
पाकिस्तानका कानुनी जानकारहरुका अनुसार अदालतले आफ्नो अन्तिम फैसला सुनाए पनि संसदले ’एक्ट अफ् पार्लियामेन्ट’ को प्रावधानअनुसार सजायमा रोक लगाउन सक्नेछ ।
विशेष अदालतको फैसलाविरुद्ध सर्वाेच्च अदालतमा अपिल गर्नुभन्दा ३० दिन पहिले नै अभियुक्तले आत्मसमर्पण गर्नु पर्ने छ ।