नेपाल भ्रमण वर्ष–२०२० : पर्यटनमन्त्री र वायुसेवा सञ्चालकबीच छलफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपाल भ्रमण वर्ष–२०२० : पर्यटनमन्त्री र वायुसेवा सञ्चालकबीच छलफल

nepal-visit2020

काठमाडौं, २५ मंसिर । वायुसेवा सञ्चालकहरूले नेपाल भ्रमण वर्ष–२०२० सफल बनाउन सक्रिय सहयोगको प्रतिबद्धता जनाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन गर्नुभएको सहयोगको आह्वानप्रति प्रतिबद्धता जनाउँदै वायुसेवा सञ्चालकहरूले सहयोग र सक्रिय सहभागिताको प्रतिबद्धता जनाएका हुन् ।
सोमबार सिंहदरबारस्थित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा वायुसेवा सञ्चालकहरूका संगठन ‘वायुसेवा सञ्चालक संघ नेपाल’ का पदाधिकारीहरूसँग भएको छलफलमा वायुसेवा सञ्चालकहरूले आफ्ना सरोकार र समस्यासमेत राख्दै सहयोग र सहभागिताको प्रतिबद्धता जनाएका थिए ।

छलफलमा मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० को तयारीको विषयमा जानकारी दिँदै यसलाई सफल बनाउन वायुसेवा सञ्चालकहरूको तर्फबाट हुनुपर्ने सहयोग र मन्त्रालयका अपेक्षा बारेमा धारणा राख्नुभएको थियो । मन्त्री भट्टराईले वायुसेवा सञ्चालकहरूलाई नेपाल भ्रमण वर्ष–२०२० को सन्दर्भमा विशेष छुट, प्याकेजलगायतका कार्यक्रम बनाउन आग्रह गरेका थिए । यसैगरी नेपाल भ्रमण वर्ष–२०२० को उद्घाटनमा ‘एयर सो’ लगायतका सिर्जनात्मक सहयोग गर्नका लागि अनुरोध गरे ।
वायुसेवा सञ्चालक संघ, नेपालका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन वायुसेवा सञ्चालकहरू सक्रिय भएर सहयोग गर्न प्रतिबद्धता जनाए । उनले संघको तर्फबाट वायुसेवाहरूको समस्या र समधानको बिषयमा सुझावसमेत राखेका थिए । उनले नेपाल भ्रमण वर्ष–२०२० को अवधिभर निषेधित क्षेत्रमा हेलीकप्टर कम्पनीहरूलाई निर्वाध सेवा सञ्चालन गर्न अनुमति दिनुपर्ने माग राखे ।
यसैगरी काठमाडौंदेखि रामेछापसम्मका बाटो स्तोरन्नतिका लागि अनुरोध गरे । छलफलमा संघका सदस्य निमानुरु शेर्पा, हेली एभरेस्ट प्रालिका योगराज कँडेल शर्मालगायतले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन वायुसेवा कम्पनीहरूको सहयोग रहने बताए ।
विदेशी विशिष्ट व्यत्तित्व र सेलीब्रेटीहरूलाई छुट दिने विषयमा पनि छलफल भएको थियो । यसको विषयमा ठोस कार्ययोजना तयार पार्नका लागि नेपाल भ्रमण वर्ष–२०२० को सचिवालय, पर्यटन बोर्ड र वायुसेवा सञ्चालक संघ, नेपाल रहेको समिति पनि बनाइएका छ ।
छलफलमा मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशी, नेपाल भ्रमण वर्ष–२०२० को सचिवालयका सदस्य सचिव बच्चुनारायण श्रेष्ठ लगायत सहभागी थिए ।
पछिल्लो एक सातायता मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० को विषयमा छलफललाई तीव्र बनाएका छन् । मन्त्री भट्टराईले १८ मंसिर २०७६ मा नेपालस्थित ३१ देशका राजदूत र पाँचवटा वैदेशिक साझेदार संस्थाका प्रमुखहरूसँग नेपाल भ्रमण वर्ष–२०२० को विषयमा छलफल गरे । यसैगरी १९ मंसिर २०७६ मा राजनीतिक दलका प्रमुख र राजनीतिक दल निकट जनसंगठनका अध्यक्षहरूसँग छलफलको आयोजना गरेका थिए ।

आजको कारोबारबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);