काठमाडौं, २३ मंसिर । दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको नवौँ दिन नेपालले ४ स्वर्ण पदक जित्न सफल भएको छ । सोमबार भएका १३ खेलमध्ये नेपालले बक्सिङ, जुडो र पौडीमा गरी ४ स्वर्ण हात पारेको हो ।
पौडीमा गौरिका सिंहले चौथो स्वर्ण पदक जित्दै सागमा कीर्तिमान कायम गरेकी छिन । नेपाल ४९ स्वर्ण, ५१ रजत र ८३ कास्य गरी कुल १८३ पदकसहित दोश्रो स्थानमा रहेको छ भने भारत १४३ स्वर्णसहित कुल २६९ पदकका साथ पहिलो स्थानमा रहेको छ ।
नेपालमा जारी १३ औँ दक्षिण एसियाली प्रतियोगिता सागमा सोमबार पनि नेपाली खेलाडीहरुले स्वर्ण थपेका छन् । नेपालकी जलपरीकी रुपमा चिनिएकी गौरिका सिंहले सोमबार चाैंथो स्वर्ण हात पार्दै सागको एकै संस्करणमा ४ स्वर्ण जित्ने कीर्तिमान कायम गरेकी छिन् ।
उनले १ सय मिटर फ्रिस्टाइल पौडीमा १३ औँ सागको कीर्तिमानी चौंथो स्वर्ण जितेकी हुन् । स्पर्धामा भारतीय खेलाडीले रजत जितेकी छिन् । पौडीकै टिशा शाक्यले २ सय मिटर मिड्लेमा नेपाललाई रजत दिलाएकी छिन् ।
सोमबार भएको महिला ५४ केजी तौल समुहको बक्सिङमा नेपालकी मिनु गुरुङले ऐतिहासिक स्वर्ण जितेकी छिन् । उनले भारतीय खेलाडीलाई हराउँदै सागमा स्वर्ण जित्ने पहिलो महिला बक्सर बनेकी छिन् ।
महिला ४८ केजीको लाइट फ्लाइ विधामा भने नेपालले रजतमा नै चित्त बुझाउनु पर्यो । महिला ४८ केजीमा नेपालकी ललिता महर्जन भारतकी श्रीनिभासन कालाईभानिसँग अंकको आधारमा पराजित भएपछि रजत मै सीमित भएकी हुन् ।
यसैगरी बक्सिङको पुरुष ६४ केजी तौल समूहमा भूपेन्द्र थापाले स्वर्ण जितेका छन् । थापाले फाइनलमा भारतीय खेलाडीलाई पराजित गर्दै स्वर्ण जितेका हुन् । सोमबार नेपालको लागि तेस्रो स्वर्ण जुडोले दिलाएको छ । महिला ७८ केजीमुनीको तौल समुहमा नेपालकी पुनम श्रेष्ठले स्वर्ण जितेकी हुन् ।
सोमबार नै पोखरा रङ्गशालामा भएको महिला फुटवलको फाइनलमा नेपाल पराजित भएको छ । भारतलाई हराएर स्वर्ण जित्ने नेपालको सपना यसपटक पनि पुरा हुन सकेन ।
भारतले नेपाललाई २–० गोल अन्तरले पराजित गरेको हो । खेलमा पराजय संगै महिला फुटवल टोलीका प्रशिक्षक हरि खड्काले राजिनामा दिने घोषणा गरेका छन् भने नेपाली राष्ट्रिय महिला फुटबल टिमका कप्तान निरु थापासंगै मनमाया लिम्बुले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् ।
यसैगरी सागको थ्री अन थ्री बास्केटबलमा नेपालले पुरुषतर्फ रजत र महिलातर्फ कास्य पदक जितेको छ । यता पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई पराजित गर्दै कास्य पदक हात पारेको छ । नेपालले माल्दिभ्स विरुद्ध ५ विकेटको जित हासिल पारेको हो ।