प्रदेश नं २ मा ३० गते राति १२ बजेपछि निर्वाचनको मौन अवधि शुरू हुने | ईमाउण्टेन समाचार

Our Network

भदौ २५ २०८३, शुक्रबार

प्रदेश नं २ मा ३० गते राति १२ बजेपछि निर्वाचनको मौन अवधि शुरू हुने

काठमाडौं, २९ भदौ । आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि शुक्रबार राती १२ बजेपछि निर्वाचनको मौन अवधि शुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरू, नागरिक समाज, आम मतदाता तथा सम्पूर्ण सञ्चारजगत्ले कुनै पनि प्रकारका चुनावी प्रचार प्रसारमा संलग्न हुन पाइने छैन ।

निर्वाचन आचारसंहिता, २०७२ र स्थानीय तह निर्वाचन आचारसंहिता, २०७३ मा व्यवस्था भए अनुसार, मौन अवधिमा निम्न बमोजिम आचरण पालना गर्न निर्वाचन अयोगले सबैलाई अनुरोध गरेको छ।

१. निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने,

२. मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिन्ह तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने ।

३. एस.एम.एस., फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने ।

४. उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिन्ह अङ्कित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, गम्छा, ट्याटु जस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने ।

५. उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने ।