काठमाडौं, २० मंसिर । नागरिक दैनिकमा अवैध हतियारको सकसमा मधेस शीर्षकमा समाचार छ । ससाना विवाददेखि रिसइबी, छलफलमा पनि पेस्तोल देखाउने र गोली प्रहार गर्ने घटना मधेसमा नौलो होइन।
अवैध हतियारको बिगबिगीका कारण मुख्य मधेस (प्रदेश २) मा हत्याहिंसाका घटना बढ्ने क्रममा छन् । सामान्य झगडा र लेनदेन विवादमा अवैध हतियार प्रहार गर्ने र ज्यानै लिनेसम्मका घटनामा ‘स्वचालित’ पेस्तोल प्रयोग भएको पाइन्छ ।
प्रदेश २ का आठवटै जिल्ला भारतसँग जोडिएका छन्। खुला सिमानाका कारण सीमा वारपारको उठबस र सम्बन्धले आपराधिक गतिविधिलाई पनि मलजल गरेको प्रहरी अधिकारीहरू बताउँछन्। प्रहरीले बेलाबेला बरामद गरेका साना हतियार सीमापारि भारतबाट भित्र्याएको पाइएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार प्रदेशका आठ जिल्लामा आर्थिक वर्ष २०७५ र ७६ मा ४५ थान अवैध हतियार बरामद भएको थियो। त्यसमा संलग्न ५७ जना पक्राउ परेका थिए।
आर्थिक वर्ष २०७६ र ७७ को असोज महिनासम्म १२ थान हतियारसहित २० जना मानिस पक्राउ परेको छ । लामो समय सिआइबीमा काम गरिसकेका सिरहा प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीका अनुसार अवैध हतियार नियन्त्रणमा नेपाल–भारत खुला सीमा मुख्य चुनौती हो। नेपाली–भारतीय अपराधीहरूबीच रहेको सञ्जालका कारण साना हतियार नियन्त्रण सीमावर्ती जिल्लाहरूमा चुनौतीपूर्ण बनेको छ। पारिका अपराधिबाट वारिकाले स्वचालित र अर्धस्वचालित हतियार भाडामा ल्याएर समेत अपराध कर्म गरेको पाइएको छ ।
यहाँको समाजमा एउटा प्रवृत्ति के देखिएको छ भने घरमा अवैध हतियार राख्दा त्यस्तो हतियार राख्नेले छरछिमेकमा गर्व अनुभव गर्छन्। मान्छे मार्न भन्दा पनि तर्साउन अवैध हतियार घरमा लुकाएर राख्ने गरेको उनीहरूको भनाइ छ।




