चितवन, २८ भदौ । लामो समयदेखि रातभर बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडकखण्ड बुधबारदेखि २४ सै घण्टा सञ्चालनमा आएको छ ।
दसैंतिहार मनाउन घर जाने यात्रुको सहजताका लागि २४सै घण्टा सडक सञ्चालनमा ल्याइएको हो । २४सै घण्टा सडक सञ्चालन गर्ने निर्णय भएसँगै सडकका विभिन्न भागमा डिजिटल सूचना बोर्ड राखिएको छ ।
चाडपर्वलाई ध्यानमा राखी राति पनि सडक खुला गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।
चाडपर्वको अवधिमा मालबाहक सवारीलाई रोकेर यात्रुबाहकलाई प्राथमिकताका साथ सडक पार गराइनेछ । यात्रुबाहक सवारीसाधनको चापलाई हेरेर राति ८ बजेदेखि १२ बजेसम्म मुग्लिनतर्फ जाने मालबाहक ट्रकलाई रामनगरनजिकै भतेरी जंगलमा र नारायणगढतर्फ आउनेलाई लेबाटारमा रोकिनेछ ।
चाडपर्वको अवधिमा सडकका खाल्डाखुल्डी पुर्ने, पानी छर्किने तथा निर्माण सामग्रीका कारण सडक अवरोध हुन नदिइने नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए ।