काठमाडौं, २६ कात्तिक । नेपाल भ्रमणमा आउनुभएका बंगलादेशका राष्ट्रपति मोहमद अब्दुल हमिदले मंगलबार भक्तपुरको ऐतिहासिक स्थलको भ्रमण गर्नुभएको छ ।
मंगलबार काठमाडौं आएलगत्तै राष्ट्रपति हमिदले विश्व सम्पदा सूचीमा रहेको भक्तपुरको दरबार स्क्वायर र टौमढीस्थित पाँचतले मन्दिरको अवलोकन गर्नु भएको हो । नेपाली सेनाको हेलिकोप्टर मार्फत भक्तपुर पुग्नु भएको थियो ।
उहाँलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गर्नुभएको थियो । राष्ट्रपति हमिदको स्वागतमा माक प्याखँ अर्थात् बाँदर नाच र देवी नाचसमेत देखाइएको थियो । राष्ट्रपति हमिदले पुरातात्विक वस्तुहरुको चासोपूर्वक अवलोकन गर्नु भएको थियो ।