काठमाडौं, २६ कात्तिक । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज नेपालको औपचारिक राजकीय भ्रमणमा आउँदै हुनुहुन्छ । राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति हमिद नेपालको राजकीय भ्रमणमा आउन लाग्नुभएको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति हमिद कात्तिक २६ गतेदेखि २९ गतेसम्म नेपालको औपचारिक भ्रमणमा रहनुहुनेछ । बङ्गलादेशका राष्ट्रपतिको औपचारिक भ्रमणको सबै तयारी पूरा भएको मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति मोहम्मद अब्दुल हमिदको स्वागतमा सडकका दुबै साइडमा नेपाल र बंगलादेशका झण्डा फहराइएको छ । दुवै देशका राष्ट्रपतिको तस्बिर सडकका पोलहरूमा लाम लगाएर राखिएको छ । ठाउँठाउँमा विभिन्न खालका स्वागत झल्कने सामग्री पनि राखिएको छ । उहाँले भ्रमण गर्नुहुने राजधानीका पर्यटकीय तथा ऐतिहासिक स्थलमा समेत दुई देशको सम्बन्ध झल्काउने गरी सिँगारिएको छ ।
त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा उहाँको राजकीय सम्मानका साथ स्वागत गरिनेछ । भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र बङ्गलादेशका राष्ट्रपति हमिदबीच उच्चस्तरीय भेटवार्ता हुनेछ । सो क्रममा राष्ट्रपति भण्डारीले समकक्षीको सम्मानमा रात्रिभोज आयोजना गर्नुहुने कार्यक्रम छ । मन्त्रालयका अनुसार उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बङ्गलादेशका राष्ट्रपति हमिदसँग शिष्टाचार भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको छ ।




