काठमाडौं, १६ कात्तिक । प्रमुख प्रतिपक्षी कांग्रेस केन्द्रीय कार्यसमितिले उपनिर्वाचनमा उम्मेदवार चयन गर्ने जिम्मा पदाधिकारीलाई दिएको छ। कांग्रेस विधानअनुसार उम्मेदवार चयनको अधिकार संसदीय बोर्डलाई छ। तर बोर्ड गठन नभएपछि शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिले पदाधिकारीलाई उम्मेदवार टुंग्याउने जिम्मा दिएको हो ।
दुई वर्षअघि सम्पन्न संघ र प्रदेशसभा निर्वाचनमा पार्टी पराजित भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय बोर्ड खारेज गरेका थिए। त्यसपछि बोर्ड गठन हुन सकेको छैन। उपनिर्वाचनमा मनोनयन दर्ताको समय एक साता पनि छैन।
कांग्रेसको शुक्रबारको बैठकमा महामन्त्री डा. शशांक कोइरालाले उपनिर्वाचनमा उम्मेदवार चयनबारे प्रस्ताव पेस गरेका थिए। बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौलासहित पदाधिकारीलाई उम्मेदवार चयनको अधिकार दिएको हो।
‘पदाधिकारी बैठकले उम्मेदवार चयन गरी घोषणा गर्ने र उम्मेदवार मनोनयन दाखिल गर्ने व्यवस्था गर्ने निर्णय गर्दछ’, कांग्रेस केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।