एनआरएनएको चुनावी प्रचार अभियान तीव्र | ईमाउण्टेन समाचार

Our Network

मंसिर १३ २०७९, मंगलबार

एनआरएनएको चुनावी प्रचार अभियान तीव्र

काठमाडौं, २९ असोज । गैर आवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वका चयनका लागि चुनावी प्रचार अभियानलाई तीव्रता दिइएको छ ।

काठमाडौंको होटल हायातमा नयाँ नेतृत्व चयनका लागि एनआरएनएका अध्यक्ष पदका प्रत्यासीद्धय कुमार पन्त र कूल आचार्यले आ–आफनो टिम बनाएर चुनावी प्रचार अभियानलाई तीव्रता दिनु भएको हो ।

चुनावी प्रचार अभियानका क्रममा पन्त र आचार्यले आ–आफनै पक्षको जीत हुने दावी पनि गरेका छन् । सत्तारुढ नेकपा निकट मानिएका अध्यक्षका उम्मेदवार पन्तले एनआरएनएको सदस्यता निःशुल्क वितरण गर्ने विषयलाई मुख्य एजेन्डा बनाउनु भएको छ भने प्रतिस्पर्धी आचार्यले विश्वका विभिन्न मुलुकमा छरिएर रहेका गैर आवासीय नेपालीहरुलाई राहत दिन छुट्टै ‘पसिना कोष’ स्थापना गर्ने विषयलाई मुख्य एजेन्डाको रुपमा अघि सार्नु भएको छ । पन्तले मुलुकको समृद्धिका लागि वैदेशिक लगानी भित्र्याउने एजेन्डालाई जोड दिनु भएको छ ।

अर्का अध्यक्षका प्रत्यासी आचार्यले पसिना कोषको स्थापना गरेर सबै गैरआवासीय नेपालीहरुलाई राहत उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भएको छ । उहाँले मुलुकको विकासमा गैर आवासीय नेपालीहरुको श्रम, सीप र पूँजी परिचालन गर्न लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

अहिले निर्वाचनका लागि मतदानको तयारी भईरहेको छ । निर्वाचनमा भाग लिनका लागि एनआरएनएका २६ सयभन्दा बढि प्रतिनिधिहरु सहभागी भएका छन ।