काठमाडौं, २७ असोज । भुटानमा जारी यू–१५ महिला साफ च्याम्पियनिसिप फुटबलमा नेपाल र भुटानले एक–एक गोलको बराबरी खेलेका छन् । पहिलो हाफमा दुवै टिमले एक अर्काविरुद्ध आकर्षक मुभ बनाए पनि गोल गर्न असफल भएका थिए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएकोमो दुवै टिमले दोस्रो हाफमा एक एक गोल गरेका थिए । खेलको ५० औं मिनेटमा नेपालले गोल गर्दै अग्रता हासिल गरेको थियो । नेपालका लागि निकिता थोकरले गोल गरेकी हुन् । १ गोलले पछि परेको घरेलु टोली भुटानले ६८ औं मिनेटमा बराबरी गोल गरेको थियो । कप्तान नेकी लाजोमले गोल गर्दै भुटानलाई बराबरी गराएकी हुन् ।
नेपाल यसअघि नै प्रतियोगितबाट बाहिरिएकाले आइतबार खेल प्रतिष्ठाको लडाईको रुपमा हेरिएको थियो । पहिलो खेलमा भारतसँग पराजित भएको नेपाल दोस्रो खेलमा बंगलादेशसँग पनि पराजित भएको थियो । उपाधिका लागि भारत र बंगलादेशले प्रतिस्पर्धा गर्ने छन् ।




