नेपाल ११ बाट १३ औं स्थानमा
काठमाडौं, २५ असोज । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीको टी–ट्वान्टी वरियतामा नेपाल दुई स्थान तल झरेको छ । आईसीसीले सार्वजनिक गरेको टी–ट्वान्टी नयाँ वरियतामा नेपाल दुई स्थान झर्दै १३ औं स्थानमा पुगेको छ । अघिल्लो वरियतामा नेपाल ११ औं स्थानमा थियो । नयाँ वरियता अनुसार नेपालले २१ खेलबाट १९० रेटीङ अंक पाएको छ ।
हालै सिंगापुरमा त्रिकोणात्मक र ओमानमा भएको पाँच देशीय टी–ट्वान्टी सिरिज खेलेपनि नेपालको वरियता घटेको छ । सिंगापुरमा नेपाल दोस्रो र ओमानमा तेस्रो भएको थियो ।
यसअघि नेपाल भन्दा तल रहेको स्कटल्याण्ड र युएईले वरियतामा फड्को मार्दा नेपाल झरेको हो । नयाँ वरियतामा स्कटल्याण्ड ११ औं र युएई १२ औं स्थानमा उक्लिएका छन् ।
टी–ट्वान्टी वरियताको शीर्ष स्थानमा पाकिस्तान र दोस्रोमा इंग्ल्याण्ड यथावत रहेका छन् । दक्षिण अफ्रिका तेस्रो, भारत चौंथो र अष्ट्रेलिया पाँचौं स्थानमा छन् ।




