प्रदेश २ को निर्वाचन : उम्मेदवारलाई मतदाता तान्न भ्याइनभ्याइ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

प्रदेश २ को निर्वाचन : उम्मेदवारलाई मतदाता तान्न भ्याइनभ्याइ

स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश २ को निर्वाचन मिति नजिकिँदै जाँदा राजनीतिक दलका नेता तथा उम्मेदवारलाई मतदाता रिझाएर आफूतर्फ तान्न भ्याइनभ्याइ छ ।

प्रमुख दलले आफ्ना शीर्ष नेता नै प्रदेश २ केन्द्रित चुनावी सभा तथा प्रचारप्रसार तीव्र बनाएका छन् । उम्मेदवारहरूसमेत चुनावी सभा तथा घरदैलो कार्यक्रममा भ्याइ नभ्याइ देखिन्छन् ।

२ असोजमा हुने निर्वाचनलाई प्रमुख दल र मधेसवादी दलले पहिलो हुन प्रतिष्ठाको लडाइँका रूपमा अघि सारेका छन् । दुई चरणको निर्वाचनमा २ सय ७६ वटा स्थानीय तहमा जित हासिल गरेर पहिलो दल बनेको नेकपा एमालेले प्रदेश २ मा पनि पहिलो दल बन्ने होडमा छ । एमालेका शीर्ष नेताहरू नै विभिन्न जिल्लामा भइरहेको प्रचारप्रसार, भेला, कार्यकर्ता भेटघाट एवं र्‍यालीमा व्यस्त बनेका छन् ।

संविधानसभाको पहिलो दल नेपाली कांग्रेस पनि प्रदेश २ मा राम्रो नतिजा ल्याएर एमालेलाई उछिन्ने दाउमा छ । कांग्रेसले स्थानीय तहको दुई चरणको निर्वाचनमा २ सय २६ सिट जितेको थियो ।

यता, पहिलो र दोस्रो चरणमा ८५ स्थानीय तहमा मात्रै जितेको नेकपा माओवादी केन्द्रले प्रदेश २ मा पहिलो दल बन्ने योजना राखेर पार्टी प्रवेश, चुनावी सभा, प्रचाररलाई तीव्र बनाएको छ । माओवादी केन्द्रले सिंगो सचिवालय टिम नै प्रदेश दुईमा केन्द्रित गरेको छ ।

एक साताभन्दा बढी प्रदेश दुईको चुनावी अभियानमा खटिएका अध्यक्ष पुष्पकमल दाहाल दुई दिन मात्र राजधानी बसेर पुनः प्रदेश २ मै खटिएका छन् । उनको सचिवालयका अनुसार निर्वाचनसम्म नै उनी प्रदेश २ मा खटिनेछन् । माओवादीले वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, विश्वनाथ शाह, उर्मिला अर्याललगायत नेताहरूलाई प्रदेशमा केन्द्रित छन् ।

अघिल्ला दुई निर्वाचनमा आठ स्थान जितेको संघीय समाजवादी फोरम नेपाल तथा विभिन्न ६ दल एकता गरेर बनेको राष्ट्रिय प्रजातन्त्र पार्टीसमेत प्रदेश २ मा पहिलो दल बन्ने दौडमा छ ।

प्रमुख दल तथा मधेसवादी दलले शीर्ष नेताहरूलाई समेत चुनाव प्रचारप्रसारमा प्रदेश २ मा खटाएका छन् । सबै दलले चुनावी सभा, प्रचारप्रसार, घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् ।

एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल प्रदेश २ का जिल्लामा व्यस्त रहेका छन् । पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरीलगायतका जिल्लामा रहेका विभिन्न कार्यक्रममा सहभागी हुँदै नेता नेपाल आइतबार धनुषा पुगेको एमाले पोलिटब्युरो सदस्य एवं प्रदेश २ का सहसंयोजक नागेन्द्र चौधरीले बताए ।एमाले सचिव योगेश भट्टराई, केन्द्रीय सदस्य सूर्य थापालगायतका नेता सिरहाको लहान, बाराको जितपुर सिमरा, महोत्तरीको बर्दिबासमा प्रचार भेला कार्यक्रम गर्दै एमाले उम्मेदवारलाई विजयी गराउन आक्रामक रूपमा प्रचार अभियानमा छन् ।

एमाले महासचिव ईश्वर पोखरेल सोमबार पर्साको वीरगन्ज पुग्दै छन् । वीरगन्जमा आयोजना हुने घरदैलो कार्यक्रममा सहभागी हुने उनको कार्यक्रम छ ।

एमाले पोलिटब्युरो सदस्य लालबाबु पण्डित सर्लाहीमा, नागेन्द्र चौधरी रौतहटमा विभिन्न कार्यक्रममा व्यस्त रहेका छन् । प्रदेश २ का संयोजक एवं स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल प्रदेश २ का विभिन्न जिल्लामा पुगिरहेका छन् ।

सत्तारूढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आठ दिन बसेर काठमाडौं फर्किएसँगै पुनः प्रदेश २ मा नै केन्द्रित बनेका छन् । आइतबार रौतहटलगायत जिल्लाका कार्यक्रममा सहभागी दाहाल निर्वाचन अवधिभर प्रदेश २ मा खटिने उनको सचिवलायको बतायो । वरिष्ठ नेताहरू नारायणकाजी श्रेष्ठ, रामबहादुर थापासहित पार्टी सचिवालय नै अहिले प्रदेश २ मा खटिएको छ ।

राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेताहरू पनि प्रदेश २ का मतदातालाई रिझाउन जिल्लाजिल्लाका विभिन्न कार्यक्रममा व्यस्त छन् । राजपा नेपाल अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र अनिल झा काठमाडौंबाट सोमबार मधेसका जिल्लामा पुग्ने कार्यक्रम रहेको उपाध्यक्ष सत्यनारायण मण्डलले बताए ।

राजपा नेपालका नेता राजेन्द्र महतो, महेन्द्रराय यादव, रामनरेश राय अहिले सर्लाहीका विभिन्न गाउँ देहातमा मतदाता रिझाउनमा व्यस्त छन् । महोत्तरीको कार्यक्रम सकेर नेता सत्यनारायण मण्डल पनि सर्लाही पुगेका छन् । उनीहरू विभिन्न गाउँका प्रचार कार्यक्रममा व्यस्त रहेका छन् ।

राजपा नेता शरतसिंह भण्डारी महोत्तरीमा, राजकिशोर यादव सिरहामा, मनीष सुमन सप्तरीमा, केशव झा वीरगन्जमा पार्टीको कार्यक्रममा रहेका छन् । राजपा नेपालका केन्द्रीय पदाधिकारी एवं केन्द्रीय सदस्यहरू विभिन्न जिल्लामा उम्मेदवारको प्रचारप्रसारमा रहेका छन्।

राजनधानी दैनिकमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);