परराष्ट्रमन्त्री न्युयोर्क प्रस्थान यस्ता छन् नेपालका कार्यसूची | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

परराष्ट्रमन्त्री न्युयोर्क प्रस्थान यस्ता छन् नेपालका कार्यसूची

pradip gyawali

काठमाडौं, ५ असोज । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभामा भाग लिन शनिबार न्युयोर्क प्रस्थान गर्नुभएको छ । महासभामा मन्त्री ज्ञवालीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतकुमार राई, परराष्ट्र मन्त्रालयस्थित संयुक्त राष्ट्रसङ्घ महाशाखा प्रमुख तथा मन्त्रालयका प्रवक्ता भरतराज पौडेल तथा न्युयोर्कस्थित नेपालका स्थायी नियोगका पदाधिकारीले साथ दिनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

महासभामा असोज ७ देखि विविध मुद्दामा छलफल सुरु हुँदैछ । तिनमा गरिबी निवारण, गुणस्तरीय शिक्षा, जलवायु परिवर्तनको असर तथा समावेशिताका लागि बहुपक्षीय प्रयास विषयक छलफलमा नेपालले पहिलो सहभागिता जनाउने मन्त्रालयले बताएको छ । नेपालका तर्फबाट परराष्ट्रमन्त्री ज्ञवालीले आफ्नो उपलब्धि तथा भोगिरहेका समस्याको समाधानको विकल्प खोज्ने प्रयास गर्नुहुने छ । महासभामा नेपालको तर्फबाट हुने सम्बोधन भने मन्त्री ज्ञवालीले असोज १३ गते गर्नुहुने कार्यसूची रहेको छ ।

त्यसअघि असोज ९ गते मन्त्री ज्ञवालीले सार्क मन्त्रिपरिषद्को अनौपचारिक सत्रको अध्यक्षता गर्नुहुने कार्यक्रम छ । महासभाका लागि मन्त्री ज्ञवाली न्युयोर्कमा रहँदा जलवायु परिवर्तनको असरसम्बन्धी सम्मेलन, दिगो विकास र संयुक्त राष्ट्रसङ्घीय उच्चस्तरीय छलफलका क्रममा राष्ट्रसङ्घको उच्च राजनीतिक फोरममा विकासमा लगानीसम्बन्धी विषयमा उहाँले बहस गर्नुहुने छ ।

उहाँले असंलग्न आन्दोलनअन्तर्गत जी ७७ र चीनको छुट्टै मन्त्रीस्तरीय बैठकमा समेत सहभागिता जनाउनुहुने छ । त्यसैगरी अतिकम विकसित तथा भूपरिवेष्टित मुलुकको मन्त्रीस्तरीय बैठकमा नेपालका तर्फबाट आफ्ना धारणा राख्नुहुने छ । उहाँले एसियाली सहयोग संवादको बैठकमा नेपालको विकासमा साझेदारीका लागि पहल गर्नुहुने छ ।

मन्त्री ज्ञवालीले संयुक्त राष्ट्रसङ्घीय मन्त्रीस्तरीय मैत्रीपूर्ण मध्यस्थकर्ताको बैठक, उच्चस्तरीय शान्ति प्रक्रियाको संवाद, बालअधिकार महासन्धिसम्बन्धी कार्यक्रम तथा राष्ट्रसङ्घको महासभाका अध्यक्षले आयोजना गर्नुभएका अन्य विविध समारोहमा सरिक हुने कार्यक्रम छ । न्युयोर्कमा रहँदा उहाँले असोज ७ गते राष्ट्रसङ्घ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गर्नुहुने स्वागत समारोहमा भाग लिनुहुने छ । त्यस्तै विभिन्न द्विपक्षीय सम्बन्ध भएका मुलुकका प्रतिनिधिसँग छलफल गर्नुहुने छ । उहाँले असोज ९ गते र १० गते अमेरिकाको न्युयोर्क र सिकागोमा रहेका नेपाली समुदायसँग परामर्श गरी देश विकासका लागि योगदान गर्न आग्रह गर्नुहुने कार्यक्रम छ । उहाँ असोज १४ गते नेपाल फर्कने कार्यक्रम रहेको मन्त्री ज्ञवालीका प्रेस सल्लाहकार सुदन ज्ञवालीले जानकारी दिनुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);