कर्णालीमा गरिबीले लिँदै ज्यान | ईमाउण्टेन समाचार

Our Network

असोज १२ २०८०, शुक्रबार

कर्णालीमा गरिबीले लिँदै ज्यान

garibi le jyan liyo

सुर्खेत, २८ भदौ ।  वीरेन्द्रनगरको कालुञ्चोक क्षेत्रमा घरजग्गा । साथमा श्रीमती र दुई छोरी । सानो र सुखी परिवार तर डेढ वर्षअघि २५ वर्षीय घनबहादुर खासुमगरले आत्महत्याको बाटो रोजे । कारण थियो– गरिबी ।

छिमेकीका अनुसार घनबहादुरले घर निर्माण गर्दा एक सहकारी र विभिन्न व्यक्तिबाट ५ लाख रुपैयाँ ऋण लिएका थिए । ‘आम्दानीको अरू माध्यम भएन, ऋणको ब्याज बढ्दै गयो,’ दिदी हरिमाया श्रीसले भनिन्, ‘त्यही पीरले झुन्डिएर आत्महत्या गरेछ ।’

घनबहादुरजस्ता थुप्रै व्यक्तिले आत्महत्या गर्नुमा गरिबी प्रमुख कारण देखिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको त्रिवर्षीय तथ्यांक केलाउँदा पनि यस्तो तथ्य देखिन्छ । कार्यालयका अनुसार पछिल्ला तीन आर्थिक वर्षमा कर्णालीमा ७ सय २८ जनाले आत्महत्या गरेका छन् । तीमध्ये गरिबीको कारण आत्महत्या गर्नेको संख्या २ सय ५५ जना छ ।

कार्यालयका प्रवक्ता डीएसपी लोकनाथ तिम्सिनाका अनुसार गरिबीपछि आत्महत्या गर्ने दोस्रो प्रमुख कारण घरेलु हिंसा हो । तीन वर्षको अवधिमा घरेलु हिंसाको कारण २ सय २४ जनाले आत्महत्या गरेको उनले बताए । ‘घरेलु हिंसा पनि गरिबीसँगै जोडिएको हुन्छ,’ डीएसपी तिम्सिनाले भने, ‘यसरी हेर्दा गरिबी आत्महत्याको प्रमुख जड हो ।’

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।